Main News

गोइत समूहले लियो सिरहा बम विष्फोटको जिम्मा, अझ ठुला कारबाही गर्ने चेतावनी

हिमालय टिभी
२०७७ चैत १ गते १७:११
गोइत समूहले लियो सिरहा बम विष्फोटको जिम्मा, अझ ठुला कारबाही गर्ने चेतावनी

१ चैत २०७७ सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना सरकारी कर्मचारी र ६ जना सेवाग्राही छन्।

दिउँसो पौने एक बजे भएको विस्फोटमा परी गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उहाँको ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।

विष्फोटमा घाइते भएका मालपोत कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । घाइते गोलबजार नगरपालिका वडा नम्बर–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका वडा नम्बर(१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका वडा नम्बर(४ का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका वडा नम्बर(३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएको छ।

मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र गतिविधि गर्दै आएको गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै र त्यसैका विरुद्ध विष्फोट गराएको दावी गरेको छ ।

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार संघीय सरकार र प्रदेश सरकार हुने पनि उसको तर्क छ । अवस्थामा सुधार नआए यसभन्दा पनि उच्चस्तरको कारबाही गर्ने उसको धम्की छ ।

प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । प्रहरीले कार्यालयमा रहेको सीसी क्यामरा फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *