Main News

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, आठ जना घाइते

हिमालय टिभी
२०७७ चैत १ गते १४:५३
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट, आठ जना घाइते

१ चैत २०७७ सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा ८ जना घाइते भएका छन । घाइते हुनेमा २ जना सरकारी कर्मचारी र ६ जना सेवाग्राही छन्।

दिउँसो पौने एक बजे भएको विस्फोटमा परी गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते हुनुभएको छ ।

बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

सामान्य घाइते अरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । विस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोइत नेतृत्वको मोर्चाले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ ।

प्रहरीले कार्यालयमा रहेको सीसी क्यामरा फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *