प्रदेश १ प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
१ चैत २०७७ काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । योसँगै प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।
प्रदेश सभा सचिवालयले भोलिका लागि तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।
गत फागुन ९ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुनासाथ २० फागुनसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको थियो ।
बैठक शुरु हुनुभन्दा एक दिनअघि सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको बैठक फेरि आज सूचना निकालेर स्थगित गरिएको छ । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै बैठक विशेष कारणले स्थगित भएको जानकारी दिनुभयो ।
तत्कालिन नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव लामो रस्साकस्सी पछि फागुन ९ गते टेबल भए पनि छलफलमा भने गएको छैन ।
अविश्वास प्रस्तावमा माओवादीका १५ र एमालेका २२ जनाको हस्ताक्षर रहेकोमा एमालेका ६ जनाले हस्ताक्षर फिर्ता गरिसकेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइ दिएकाले अविश्वास अन्योलमा परेको छ ।
नेकपा एकीकृत रहँदा अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने स्थितिमा पुगेका मुख्यमन्त्री राईको सरकार अब भने सुरक्षित देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ र माओवादी केन्द्रका १६ सांसद छन ।
प्रतिक्रिया