राजनीति

नेपाल-खनाललाई पेलेर अघि बढे ओली, जिम्मेवारी खोसियो, पद खारेज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते २०:५२
नेपाल-खनाललाई पेलेर अघि बढे ओली, जिम्मेवारी खोसियो, पद खारेज (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पेलेरै अघि बढ्नुभएको छ । औपचारिक बैठक नै नबसी नेपाल पक्षका नेताको पद र जिम्मेवारी खोसेर ओलीलाई आफ्नो मुड प्रष्ट पार्नुभएको हो । यसले नेकपा एमालेभित्र भाँडभैलो हुने संकेत देखिएको छ ।

सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि माधवकुमार नेपाल पक्षले औपचारिक बैठकको माग गर्दै आएको थियो । समूहगत भेला गरेर नै नेपाल पक्षले ओलीमाथि दबाब बनाउने कोशिस गरेको थियो । तर ओलीले बैठक त बोलाउनुभयो तर आफ्नो समूहको मात्रै र त्यो बैठकले नेपाल पक्षलाई पेलेरै अघि बढ्ने निर्णय गर्यो । माधव नेपाल पक्षको उपस्थितिबिनै बसेको ओली समूहको बैठकले नेपाल पक्षका नेताको पदमात्रै खारेज गरेन, जिम्मेवारी समेत खोसिदियो ।

पदाधिकारी खारेज
प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बसालेर महासचिव बाहेक सबै पदाधिकारी खारेज गरिदिनुभयो । ओली समूहको बैठकले विधान संशोधन गरेर उपाध्यक्ष, उपमहासचिव र सचिव पदनै खारेज गरिदिएको छ ।

खारेज गरिएका यी पदमा नेपाल पक्षको बहुमत थियो । उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई नेपालको पक्षमा हुनुहुन्थ्यो ।

माधव नेपालकै जिम्मेवारी खोसियो
आफू अल्पमतमा रहेको पदाधिकारी खारेज गरेका ओलीले माधवकुमार नेपालसहित नेपाल पक्षका नेताहरुको जिम्मेवारी पनि खोस्नुभएको छ । ओलीले विदेश विभागको प्रमुखबाट नेपाललाई हटाउनुभएको छ ।

नेपालको ठाउँमा डाक्टर राजन भट्टराईलाई जिम्मा दिइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्ट, कर्णाली प्रदेशमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेललाई जिम्मा दिइएको छ । प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ। एमाले संस्थापन पक्षको बैठकले सात वटा प्रदेशमा अध्यक्ष पनि परिवर्तन गरेको छ ।

नेपाललाई पेल्दा बादललाई जिम्मेवारी
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाल र उहाँ पक्षीय नेतालाई पेलेर अघि बढ्दा पूर्व माओवादी केन्द्रका नेताहरुलाई भने साथ लिनुभएको छ । ओलीले गृहमन्त्री रामबहादुर थापालाई केन्द्रीय सदस्य मनोनित गरेर बागमती प्रदेश ईञ्चार्ज बनाउनुभएको छ ।

यसअघि बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो । ओलीले बादल पक्षबाट २३ जनालाई केन्द्रीय सदस्य बनाउनुभएको छ । यो समूहबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, लिलाबहादुर थापा, दधिराम न्यौपाने, धर्मराज रेग्मी, गौरी शंकर चौधरी, झपट बोहरा, ठम्मर बिष्ट, चन्द्र बहादुर खड्का सहित २३ जनालाई केन्द्रीय सदस्य बनेका छन् ।

आगामी मंसिरमा महाधिवेशन
सर्वोच्च अदालतको फैसलापछि ०७१ सालमा भएको नवौं महाधिवेशनबाट निर्वाचित एमालेको सबै नेतृत्व र पार्टी कमिटी ब्यूँतिएको हो । तर ओलीले यसमा एकलौटी गर्नुभएको छ । पार्टी ब्यूँतिएपछि पहिलो औपचारिक र माधव नेपाल सहितको बैठक बिनै ओली अघि बढ्नु भएको छ ।

यतिसम्मकी पार्टीको आगामी महाधिवेशन पनि ओलीले एकल ढंगले तय गर्नुभएको छ । ओली समूहको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने गरी दशौं महाधिवेशनको मिति तोकेको छ । महाधिवेशनको स्थान भने तय भएको छैन ।

एकलौटी निर्णयबाट ओलीले आफ्नो योजनाको प्रष्ट संकेत दिनुभएको छ । तर यसले एमालेभित्र चर्को अन्तर्विरोध र फूटसम्मको अवस्था सिर्जना गर्ने देखिन्छ, किनकी एमालेमा माधवकुमार नेपाल पक्ष पनि कमजोर छैन । त्यसैले पहिले नेकपा हुँदाको विवाद अब एमालेमा हुने देखिन्छ, यसले एमालेलाई कहाँ पुर्‍याउला अहिले नै भन्न सकिन्छ । तर प्रष्ट छ, स्थिति सहज छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्