एमालेमा झनै चर्कियो अन्तरसंघर्ष, नेपाल समूहको जिम्मेवारी खोसियो, महाधिवेशन घोषणा
२८ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा एमालेमा औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएर माधव नेपाल पक्षको उपस्थिति बिनै उनीहरुको जिम्मेवारी खोस्नुका साथै महासचिव बाहेकका पदाधिकारी खारेजीको निर्णय गर्नुभएको छ ।
ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको छ । यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएको छ। प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार ज्ञवालीलाई दिइएको छ ।
नेता माधवकुमार नेपाल पक्षका नेताको जिम्मेवारी पनि खोसिएको छ । आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। विभागमा पहिला माधवकुमार नेपाल हुनुहुन्थ्यो ।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।
बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
बैठकले आउँदो मंसिर २ गतदेखि ४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया