Main News

संसदीय दलको नेता चयन गर्दै जसपा, ठाकुरको सम्भावना बलियो

हिमालय टिभी
२०७७ फागुन २८ गते १४:४०
संसदीय दलको नेता चयन गर्दै जसपा, ठाकुरको सम्भावना बलियो

२८ फागुन २०७७ काठमाडौं । पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ ।

बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा छ, समय भएमा सम्भवतः आजै नेता चयन हुन्छ, अहिले व्यक्तिको टुङ्गो लागेको छैन”, जसपा स्रोतले भन्यो ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र हुनुहुन्छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ । पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ । बूढानीलकण्ठस्थित देउवा निवासमा साँझ जसपाका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *