Political Hightlights

समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र, माओवादीका मन्त्रीहरु अलमलमा

हिमालय टिभी
२०७७ फागुन २६ गते ७:४४
समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र, माओवादीका मन्त्रीहरु अलमलमा

२६ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु अलमलमा परेका छन्।

नेकपा नरहेसँगै यसका पूर्वघटक एमाले र माओवादी केन्द्रका नेताहरु त्यतै लागेपछि सरकारमा सहभागी मन्त्रीहरु अन्योलमा परेका हुन्। माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निचोडमा पुगेको छ।

तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षमा रहेका एमालेका नेताहरु एमालेमै सक्रिय रहने निर्णय गरिसके पनि सरकारमा रहेका माओवादी केन्द्रका नेताहरु भने अब ओली नेतृत्वको एमालेमै रहने वा माओवादीमा फर्कने भन्नेबारे अनिर्णित छन्।

ओली सरकारमा रहेका खानेपानीमन्त्री मणि थापा र खेलकूदमन्त्री दावा तामाङले अब माओवादीमा नफर्किने संकेत गरिसक्नु भएको छ । उहाँहरु दुवै जना संसद सदस्य हुनुहुन्न।

संघीय संसदको सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी भने यसबारे कुनै निर्णयमा पुग्नु भएको छैन । उहाँहरु अहिलेसम्म आन्तरिक परामर्शमै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली नेतृत्वको एमालेमै रहँदा सांसद पद नरहने भएपछि सांसद पद माया मारेर एमालेमै रहने वा मन्त्री छाडेर माओवादीमा फर्कने भन्नेबारे उहाँहरुले छलफल गरिरहनु भएको छ । उहाँहरुले प्रधानमन्त्री ओलीसँग पनि छलफल गरिरहनु भएको छ ।

माओवादीबाट सहभागी मन्त्रीहरु एमाले वा माओवादी कता रहने भन्नेबारे आजसम्म निर्णय भइसक्ने एक नेताले बताएका छन् । लामो समय अलमलमा बस्ने अवस्था नभएकाले तत्काल निर्णय गर्नुपर्ने अवस्था आएको ती नेताको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्