Main News

नयाँ सत्ता समीकरण निर्णायक जसपा तानातानमा, जसपा फुटाएर टिक्ने दाउमा प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ फागुन २५ गते १९:००
नयाँ सत्ता समीकरण निर्णायक जसपा तानातानमा, जसपा फुटाएर टिक्ने दाउमा प्रधानमन्त्री ओली

२५ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएको जनता समाजवादी पार्टी अहिले तानातानमा परेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपालाई मनाउन सबै जोड लगाउनुभएको छ । यसैक्रममा प्रधानमन्त्रीसँग जसपाका केही नेताले भेटवार्ता समेत गरेको खुलेको छ ।

तीन अध्यक्षमध्ये महन्थ ठाकुर प्रधानमन्त्रीसँग मिलेर जान सकारात्मक देखिएपछि जसपामा विवाद उत्पन्न भएको छ । अन्य दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेसँग मिल्न नहुने पक्षमा हुनुहुन्छ ।

अध्यक्ष ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोसँग मिलेर एमालेसँग सत्ता साझेदारीका लागि प्रयास शुरु गरेको थाहा पाएपछि भट्टराई र यादव असन्तुष्ट बन्नुभएको छ ।

सत्ता साझेदारीका लागि ठाकुरले पूर्व समाजवादी र राजपाकै केही नेतालाई समेत जानकारी नदिई कार्यदल नै बनाएको खुलेको छ । आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष ठाकुरले कार्यदलमा नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई राखिएको बताएपछि मात्रै अन्य नेताले थाहा पाएका थिए ।

यस्तै यो बीचमा ठाकुरले प्रधानमन्त्री ओलीसँग भेटेर सत्ता साझेदारीका लागि आफ्ना केही शर्तसमेत राखिसक्नुभएको खुलेको छ ।

जसपाको साथ पाए बहुमत पुग्ने भएकाले प्रधानमन्त्री ओलीले पनि ठाकुरलाई फकाउन जोड दिइरहनुभएको छ ।

सकेसम्म सिंगो जसपालाई मनाउने संभव नभए पार्टी नै फुटाएर आफूलाई पुग्ने सांसद ल्याउने योजनामा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतले जनाएको छ । सरकार टिकाउन प्रधानमन्त्रीलाई १३७ जना सांसद चाहिन्छ।

एमालेका १ सय २० जना सांसद छन् । जसपाका ३४ सांसदमध्ये दुई जना निलम्बनमा छन् । अध्यक्ष ठाकुरले सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता लगायतका शर्त राख्नुभएको छ । त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको बताइएको छ ।

एमाले र जसपाको समीकरण बनाउन छिमेकी मुलुकको पनि सक्रियता बढेको स्रोतको दाबी छ । त्यही दबाबका कारण अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँगको समीकरण बनाउने प्रयासमा लाग्नुभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *