Main News

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन मन्त्री श्रेष्ठको निर्देशन

हिमालय टिभी
२०७७ फागुन २५ गते १६:२०
समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन मन्त्री श्रेष्ठको निर्देशन

२५ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिनुभएको छ ।

आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताउनुभयो ।

कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तक प्रकाशन गर्न उहाँले निर्देशन दिनुभयो । समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरुमा पुर्‍याउन पनि उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यसले पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । विगतको मैले पास्ट इज पास्ट भनिसकेको छु । वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्नँ । त्यसका लागि तपाईहरुलाई के अप्ठ्यारो छ ? पाठ्यक्रमबाट तपाईहरुलाई सामग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाईहरु आफै पनि पहल गर्नुस् । कुनैपनि पुस्तक छपाइ टाइममा छाप्ने र काठमाडौंमा बसेर त्यो जुम्लाको विकट गाउँको स्कुल सम्झनू । यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरु सप्लाइ हुनुपर्‍यो । अब नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुँदैछ । १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईहरुले गर्नैपर्छ । प्रकाशित पुस्तकहरु समयमै त्यो ठाउँमा पुग्नैपर्छ । कहिँकतै कुनैपनि बाहनामा विद्यालयका विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु हुँदा उनीहरुको हातमा किताब नहुने स्थिति नआउने गरी किताब प्रकाशनको जिम्मा लिइरहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले समयमै विद्यार्थीको हातहातमा उनीहरुको पुस्तक पुगोस् भन्ने आग्रह गर्न चाहान्छु ।’

अब नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नका लागि निर्देशन दिनुभएको हो । त्यसैगरी जनक शिक्षा सामग्री केन्द्र निर्वाचनका लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

कुनै पनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उहाँले त्यसका लागि तयारी रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘सबै हामीले अहिले हेरेका मेशिनहरुमध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेशिन त्यसलाई रेडी पोजिशनमा राख्नुस् । निर्वाचन आयोगले आदेश दिने बित्तिकै खररररर मत पत्र छापिने गरेर तयारीमा रहनुस् । कुनै पनि बेला तपाईहरुलाई यो आदेश आउनेछ ।’

मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकाले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *