माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

२५ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि बस्न लागेको स्थायी कमिटी बैठकले ओलीसँग गएका आफ्ना नेताहरुलाई पार्टीमा फर्कन आव्हन गर्ने बताइएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले रामबहादुर थापा, टोप बहादुर रायमाझी, लेखराज भट्ट र प्रभु शाहलाई पार्टीमा फर्कन मौका दिने भएको हो । तर नफर्किए कार्बाही गरिने तयारी स्थायी कमिटीको छ ।
ती नेताहरु कारबाहीमा परेको खण्डमा उनीहरुको सांसद पद स्वतः खारेज हुनेछ । यस्तै आज बस्ने माओवादी केन्दको बैठकले ओली सरकारलाई समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा पनि निर्णय गर्नेछ ।
माओवादीसँगको गठबन्धनका कारण बहुमत प्राप्त गरेको ओली सरकार माओवादी केन्द्रले समर्थन नगरेको खण्डमा ढल्ने निश्चित छ ।
साथै सैद्धान्तिक रुपमा कार्यालयहरु नभएका प्रदेश र जिल्लाहरुमा कार्यालय, बोर्ड, झण्डाहरु राख्ने पनि नेकपा माओवादी केन्द्रको तयारी छ ।
प्रतिक्रिया