विदेश

स्वीट्जरल्याण्डमा बुर्काविरोधी प्रस्तावले पायो समर्थन

हिमालय टिभी
२०७७ फागुन २४ गते ७:४६
स्वीट्जरल्याण्डमा बुर्काविरोधी प्रस्तावले पायो समर्थन

२४ फागुन २०७७ स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डमा मुस्लिम महिलाले अनुहार ढाक्ने पोशाकमा प्रतिबन्ध लगाउने प्रस्तावले समर्थन पाएको छ ।

स्वीट्जरल्याण्डमा भएको जनमत संग्रहमा मुस्लिम महिलाले मुहार ढाक्ने बुर्का तथा निकाबजस्ता पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावमा सामान्य बहुमत आएको हो ।

प्रस्तावको समर्थनमा ५१ दशमव २ प्रतिशतले र विपक्षमा ४८ दशमलव ८ प्रतिशतले भोट हालेका थिए । अब त्यहाँ सार्वजनिक स्थानमा बुर्का र निकाबसहितका अनुहार छोप्ने लुगा लगाउन नपाउने व्यवस्था संविधानमा उल्लेख हुनेछ ।

दक्षिणपन्थी स्वीस पिपुल्स पार्टीले अतिवाद रोकौं भन्ने नारासहित अघि सारेको प्रस्तावमाथि जनमत संग्रह गरिएको थियो । उता त्यहाँको प्रमुख इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति अँध्यारो दिन भएको बताएको छ ।

यसले कानूनी असमानतालाई फैलाएको र मुस्लिम अल्पसंख्यकहरुको बहिष्कारको स्पष्ट सन्देश दिएको सेन्ट्रल काउन्सिल अफ मुस्लिमले वक्तव्यमा उल्लेख गरेको छ । परिणामविरुद्ध उसले अदालतमा चुनौती दिने समेत बताएको छ ।

यसअघि सरकारले समेत प्रतिबन्ध प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो ।

स्वीट्जरल्याण्डमा मानिसलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ । उनीहरूलाई पटकपटक विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत संग्रहमा सहभागी गराइन्छ ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ ।

फ्रान्सले सन् २ हजार ११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने नेदरल्याण्ड्स, डेनमार्क, अष्ट्रेलिया र बुल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *