जापानको राजधानी टोकियोमा संकटकालको अवधि फेरि थपियो
२२ फागुन २०७७ टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ ।
प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि फेरि थप गरिएको घोषणा गरेका हुन् ।
महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि बढाइएको प्रधानमन्त्री सुगाको भनाइ छ । संकटकालको अवधि आगामी मार्च २१ तारिखसम्म पुर्याएको छ । कोरोना महामारी व्यवस्थापनका लागि सरकारद्वारा गठित टास्क फोर्ससँगको परामर्शका आधारमा संकटकाल लम्ब्याउने निर्णय भएको हो ।
दोस्रो पटक थपिएको संकटकाल कनगवा, चिबा र सैताममा पनि लागू रहनेछ । स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए ।
कोरोनाका कारण जापानमा अहिलेसम्म झण्डै साढे चार लाख मानिस संक्रमित हुँदा आठ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया