Main News

दोस्रो चरणको खोपका लागि काठमाडौं महानगरपालिकामा १५ स्थानमा केन्द्र तोकिए

हिमालय टिभी
२०७७ फागुन २२ गते ७:५०
दोस्रो चरणको खोपका लागि काठमाडौं महानगरपालिकामा १५ स्थानमा केन्द्र तोकिए

२२ फागुन २०७७ काठमाडौं । दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ वटा खोप केन्द्र तोकेको छ ।

भोलिदेखि शुरु हुने अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिने तयारी छ ।

खोप केन्द्र अस्पताल नै हुनुपर्ने प्रावधानले महानगरभित्रका १५ वटा अस्पतालमा खोप केन्द्र तोकिएको हो । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ ।

तोकिएकाबाहेकका अस्पतालले पनि खोप कार्यक्रम सञ्चालन गर्न चाहे महानगरले सघाउने महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताउनुभयो । एउटा केन्द्रमा दुईजना खोप दिने र ६ जना स्वयंसेवक खटाउने तयारी छ ।

महानगरमा करिब दुई लाख १५ हजार व्यक्ति खोपका लक्षित समूहमा छन् । तीमध्ये करिब एक लाख ५० हजार खोपका लागि आउने अनुमान महानगरले गरेको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा कार्यालयको परिचयपत्रमध्ये एक लिएर जानु पर्नेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *