राजनीति

विप्लव नेकपामाथि प्रतिबन्ध : दुई वर्षमा के–के भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते २०:१२
विप्लव नेकपामाथि  प्रतिबन्ध : दुई वर्षमा के–के भयो ? (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । तीन बुँदे सहमतिसँगै नेपाल कम्यूनिष्ट पार्टी नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । नेकपाका महासचिव विप्लवले सार्वजनिक समारोहबाटै शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता जनाउनुभएको छ ।

०६९ मा प्रचण्ड र ७१ मा मोहन वैद्यलाई छोडेर संसदीय व्यवस्था फाल्न हिंडेका विप्लवका अनुसार अहिले परिस्थितिमा फेरबदल आयो त्यसैले शान्तिपूर्ण राजनीतिको बाटो रोजियो । अब कसरी अघि बढ्ने भन्ने विप्लवले केही त बताउनु भएन तर संसदीय व्यवस्था राख्ने कि फाल्ने भनेर जनमत लिनुपर्ने आफ्नो पार्टीको नयाँ नारा सार्वजनिक गर्नुभयो ।

सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई इङ्गित गर्दै यस्तो अभिव्यक्ति दिनुभयो । अदालतले रिहा गर्न आदेश दिएपछि फेरि पक्राउ गरेर काभ्रे पुर्‍याइएका बास्तोला रिहा भएर कार्यक्रममा पुग्नुभएको थियो ।

२०७५ सालको १० फागुनदेखि ०७७ साल, फागुन १७ सम्म ७ वटै प्रदेशबाट २ हजार ९८ जना विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुविरुद्ध २ हजार ७ वटा मुद्दा छन् । सरकारसँगको सहमतिसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा हुने क्रम शुरु भएको छ ।

प्रहरीको रेकर्डअनुसार २०७५ फागुनदेखि ०७७ मंसिरसम्म विप्लव समूहले कानूनविपरितका ७ सय १३ वटा घटना घटाएको छ । सत्ता पल्टाउन एकीकृत जनक्रान्तिको घोषणा गरेका विप्लवको समूहले घोषितरुपमा सशस्त्र आन्दोलन नगरे पनि हिंसात्मक गतिविधि गर्‍यो ।
विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट, अपहरण, धम्की, गोली प्रहार, जग्गा कब्जा जस्ता गतिविधि भए ।

दुई वर्षअघि एनसेलको मुख्यालय ललितपुरमा एक जनाको ज्यान नै जाने गरी बम विष्फोट गराएपछि ओली सरकारले नै यो समूहलाई प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहमाथि प्रहरी आक्रामक बन्यो ।

प्रतिबन्धका बावजुद विप्लव समूहले भूमिगतरुपमा छिटफुट गतिविधि गर्दै आएको थियो । प्रतिबन्धपछि पार्टीका नेता कार्यकर्ता पूर्ण रुपमा भूमिगत बनेका थिए ।

यो समूहबाट चार सर्वसाधारण नागरिक र दुई प्रहरीको हत्या भएको छ । विप्लव समूहतर्फ ११ जनाको मृत्यु भएको छ । बम विस्फोटमा परेर मात्रै ७ जना कार्यकर्ताको मृत्यु भएको छ भने प्रहरी कारबाहीमा परेर ४ जनाको ज्यान गएको छ ।

सशस्त्र युद्ध लडेर शान्ति प्रक्रियामा आएको ६ वर्षपछि विप्लवले मोहन वैद्यको नेतृत्वमा प्रचण्डसँग राजनीतिक सम्बन्ध तोड्नुभएको थियो । तर वैद्यसँगको सहयात्रा २ वर्ष पनि टिकेन । विप्लवले २०७१ सालमा वैद्यसँग अलग भएर आफ्नै नेतृत्वमा पार्टी खोल्नुभयो । र पछि हिंशात्मक अभियान शुरु गर्नुभयो । सरकारसँगको सहमतिसँगै अब यो अभियानमा विराम लागेको छ । र भूमिगत भएका विप्लव झण्डै ३ वर्षपछि सार्वजनिक हुनु भएको छ । तर अब विप्लवको राजनीति कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्