Political Hightlights

सरकार र विप्लव नेकपाबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर, के छ सहमतिमा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते १६:००
सरकार र विप्लव नेकपाबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर, के छ सहमतिमा ? (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

संघीय राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्यहरु वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाई गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ । ’

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयवहादुर चलाउने दिपक सम्मिलित वार्ता टोली बनाएको थियो ।

दुवै तर्फका वार्ता टोलीले वार्ता गरेर बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई आज विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पार्नुभयो । हस्ताक्षर समारोह आयोजित राष्ट्रिय सभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी सञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्