Main News

एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मान

हिमालय टिभी
२०७७ फागुन २१ गते १३:३७
एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मान

२१ फागुन २०७७ काठमाडौं । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई गत वर्ष वीरगन्जमा एसिड आक्रमण गरेका थिए ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कारको औपचारिक घोषणा गर्नेछन् ।

व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्नेलाई यो पुरस्कार दिइन्छ । यसअघि पाकिस्तानकी किशोरी मलाला युसुफजाईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासले मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने अवसरमा रूपान्तरण गरेको जनाएको छ ।

दुतावासले धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि पहल गरेकाले पुरस्कार दिन लागिएको जनाएको छ ।

नेपालमा महिला तथा किशोरीको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *