राजनीति

सरकार र विप्लव नेकपाबीच सहमति : प्रतिबन्ध फुकुवा भयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २० गते २१:०१
सरकार र विप्लव नेकपाबीच सहमति :  प्रतिबन्ध फुकुवा भयो (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाबीचको वार्ता सफल भएको छ । दुई पक्षबीच तीन बुँदे सहमति भएको छ । विस्तृत सहमति भोलि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नुहुनेछ । निकै अप्रत्याशित ढंगले सरकार र विप्लव नेकपाबीच सहमति भएको छ ।

तीन बुँदे सहमति
औपचारिक वार्ता शुरु भएको दोस्रो दिनमै सरकार र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीबीच सहमति भएको छ । तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ ।

सरकार र विप्लव नेकपाबीच विप्लव नेकपामाथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गर्ने, थुनामा रहेका नेता कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेज गर्ने सहमति भएको छ । प्रतिबन्धपछिको २ वर्षमा विप्लव नेकपाका २ हजार भन्दा बढी नेता कार्यकर्तालाई मुद्दा लागेको छ ।

अहिले पनि हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, माईला लामा लगायत १ सय ३६ जना नेता कार्यकर्ता थुनामा छन । त्यस्तै विप्लव समूह पनि सबै राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न र शान्तिपूर्ण राजनीति गर्न सहमत भएको छ ।

प्रम ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
सहमतिको विस्तृत विवरण भोलि शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा काठमाण्डौमा एक समारोहकाबीच सार्वजनिक गरिनेछ ।

विस्तृत सहमितमा त्यहीँ हस्ताक्षर हुनेछ । त्यो समारोहलाई प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्नुहुनेछ । विप्लवको यो संम्बोधन झण्डै तीन वर्षपछिको पहिलो सार्वजनिक सम्बोधन हुनेछ ।

वार्ता औपचारिक मात्रै, अनौपचारिकमै सबै काम फत्ते
जसरी वार्ता र सहमति भयो, त्यो निकै अप्रत्याशित जस्तो देखिएको छ । किनकी वार्ता टोलीको घोषणा, त्यस लगत्तै प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा वार्ता र सहमति भएको छ । फास्ट ट्रयाकमा जसरी सहमति भयो, त्यसले सबै कुरा पहिले नै अनौपचारिक वार्तामा भैसकेको प्रष्ट हुन्छ, किनकी उसकै भाषामा दलाल पूँजिवादी व्यवस्था फाल्न हिंडेको विप्लव नेकपा र उसलाई तह लगाउने घोषणा सहित प्रतिबन्ध लगाएको सरकारकाबीच अनौपचारिक र गहन छलफल विना सहमति संभव थिएन ।

त्यसको संकेत प्रधानमन्त्रीले गत फागुन १६ गते झापाको एउटा सार्वजनिक कार्यक्रमबाटै दिनुभएको थियो । प्रधानमन्त्रीले विप्लव नेकपासँग वार्ता भएर सहमति हुने अनि त्यो सबै नागरिकले टेलिभिजन मार्पmत हेर्न पाउने बताउनुभएको थियो ।

प्रधानमन्त्रीले टेलिभिजनबाट हेर्न पाउनुहुनेछ भनेको संभवत भोलिको सहमति सार्वजनिक कार्यक्रम हो । अर्थात सबै काम अनौपचारिकरुपमै योजनावद्ध ढंगले गरिएको थियो र त्यो फत्ते भएको छ । त्यसका लागि प्रधानमन्त्री ओली र विप्लवबीच पनि वार्ता भएको ठानिएको छ ।

सरकार र विप्लव नेकपाबीचको सहमति मुलुकको दीगो शान्तिका लागि फलदायी होस नागरिकको अपेक्षा यही हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *