राजनीति

प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमाथि दबाब बढाउन आक्रामक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १९ गते २०:१८
प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमाथि दबाब बढाउन आक्रामक (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली पक्षमा लागेका सुवासचन्द्र नेम्वाङ सहित ७ जना नेतालाई कारवाही गरेको छ । प्रचण्ड नेपाल समूहको आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै निलम्बन र निष्काशनको कारवाही गरेको हो ।

बैठकले नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्दै संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिएको छ । अन्य ६ जना नेतालाई केन्द्रीय कमिटीबाट निलम्वन गरिएको छ । नेकपाका दुबै समूह अहिले एक अर्कालाई कारवाही गर्ने रणनीतिमा लागेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचेतकबाट देव गुरुङलाई हटाउनु भएको थियो । यस्ता घटनाले दुइ समूह मिलाउन प्रयास गरिरहेका नेताहरु भने निराश भएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाको प्रचण्ड– नेपाल समुह प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा आइहाल्ने विश्वासमा थियो । तर परिणाम उल्टो देखियो ।

यस्तै ओली समूहका केही र तटस्थ रहेका अन्य सांसद पनि आफ्नो पक्षमा आउने उसको आंकलन थियो । तर अहिलेसम्म त्यसको पनि संकेत नदेखिएपछि दबावमा परेको प्रचण्ड नेपाल समूह अब भने आरपारको लडाइमा लाग्ने अवस्थामा पुगेको छ ।

त्यसै अनुसार उसले केन्द्रीय समिति बैठक बोलाएर ओली समुहमा लागेका नेतालाई धमाधम कारवाही गर्न थालेको छ । पेरिसडाडामा बुधवार केन्द्रीय समिति बैठक बोलाएर उसले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक बनेका विशाल भट्टराईसहित ओली समूहका महेश बस्नेत, सुर्य थापा, शान्ता चौधरी, प्रभु शाह र कर्णबहादुर थापालाई कारवाही गरेको छ ।

अविस्वासको प्रस्ताव अघि बढाउने प्रचण्ड नेपाल समूहको योजनामा प्रतिपक्षी कांग्रेसले तत्काल साथ नदिएपछि ओली समूह पनि हौसिएको छ । त्यहि क्रममा ओली समूहले प्रमुख सचेतकबाट प्रचण्ड नेपाल पक्षका देव गुरुङलाई हटाएर बिशाल भट्टराईलाई नियुक्त गरेको थियो ।

नेकपाका दुबै समूहलाई मिलाउन भन्दै लागेका नेताहरु यी घटनाबाट निराश भएका छन् । आगामी सरकारको नेतृत्व पनि नेकपाले नै गर्ने बताइरहेका युवा नेता पनि अब पछि हटेका छन् । तिक्तता यसरी बढेको छ कि दुबै समूह एक अर्कामाथि सबै बल लगाएर खनिन थालेका छन् ।

प्रधानमन्त्री ओलीले आफुमाथि आक्रमण हुनसक्ने भनि दिएको अभिव्यक्ति पनि प्रचण्ड नेपाल समूहका लागि जालझेल पुर्ण लागेको छ । राजिनामा टार्न अनेक फन्डा गरिरहेको भन्दै उसले तत्काल पद छाड्न प्रधानमन्त्री ओलीलाई भनेको छ ।

नेकपाका दुबै समूह एक अर्कोलाई सकेसम्म पेलेर अघि बढ्ने र निर्वाचन आयोगमा दबाब दिने रणनीतिमा लागेका छन् । त्यसैका लागि प्रचण्ड नेपाल समूहले केन्द्रीय कमिटी बैठकमै नागरिकता र परिचय पत्र संकलन गरेको छ ।

बैठकमा २ सय ८१ जनाको नागरिकता संकलन गरिएको प्रचण्ड नेपाल पक्षको दाबी छ । आगामी सरकारबारे नेपाली काँग्रेसले स्पष्ट नपारेको र निर्वाचन आयोग अनिर्णित बनिरहेको अवस्थामा राजनीतिक अन्योल झन बढेको छ । आगामी २३ गते बोलाइएको संसद बैठक अगाडी नै यो अन्योल सकिन्छ कि सकिदैन त्यो भने हेर्न बाँकि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्