Main News

आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रधानमन्त्री ओलीको चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते १७:०७
आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रधानमन्त्री ओलीको चुनौती (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–नेपाल समूहलाई चुनौति दिनुभएको छ ।

सरकार गठन, प्रधानमन्त्री चयन तथा संसदीय दलको नेता चयन गर्ने आफ्नै विधि र पद्धति भएको भन्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरेर विधि र प्रक्रिया अनुसार आफूलाई हटाउन चुनौति दिनुभएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड–नेपाल समूहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहना हो भने आफैले संसदीय दलको बैठक बोलाइदिनेसम्म बताउनुभयो ।

उहाँले भन्नुभयो “पार्टीको कमिटीमा आउनुपर्‍यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्‍यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्‍यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्‍यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाइदिन्छु । आउनुहोस् न । ”

उहाँले प्रधानमन्त्रीका लागि खोजी भइरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको खोजी कत्रो भइरहेको छ । दौडादौड छ प्रधानमन्त्रीको खोजीमा । कोही गीत गाउँछन् दिए खान्थेँ मायाको दाहिने हातैले । साथीहरु माने म पनि हुन्थेँ भन्छन् । त्यो दिए खान्थेँ मायाको दाहिने हातैले भएन ? दिए खान्थेँ म पनि भन्या छ । यसको एउटा विधि पद्धति छ । प्रक्रिया छ । संसदीय अभ्यास छ । त्यसअन्तर्गत आउनुहोस् न । ”

एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफूलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ? ”

उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भइरहेको दाबी गर्दै देश बिगारेर अरुका लागि कम्र्फेटेबल सरकार बनाउने खेलमा प्रचण्ड–नेपाल समूह लागेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “तपाईहरुको चेतना र जागरणलाई धन्यवाद भन्न चाहन्छु । सलाम भन्न चाहन्छु म देशीविदेशी शक्तिहरु हाम्राविरुद्ध लागेका छन् । तैपनि पार्टी कार्यर्ताहरुमा निरासा छैन । अन्यौल छैन । पार्टीमा कुनै अन्यौल छैन । पार्टी ठिक ढंंगले अघि बढिरहेको छ । उनीहरुले भनिरहेका छन् हामीसँग केन्द्रीय कमिटीको बहुमत छ । त्यो बहुमत त मैले नै दिएको बहुमत हो । एकताका लागि भनेर दिएको हो । केन्द्रीय कमिटी बनाउँदा मैले मेरो नोटकपिमा नाम लेखेर केन्द्रीय कमिटी बनाएको हो । महाधिवेशनबाट जितेर आएको कुनै कमिटी हो र त्यो ? देश बनाउनका लागि दिएको हो । पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको हो । तर उहाँहरुमा षडयन्त्रपूर्वक ढंगले पार्टी बिगार्ने, देश बिगार्ने नियत त लुकेकै रहेछ त्यो बेला । एकीकरण गरिसक्ने बित्तिकै उहाँहरुले आफ्नो धन्दा शुरु गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने, देश बरबाद बनाउने, यस देशमा कम्र्फेटेबल सरकार बनाइदिने । कसैका लागि कम्र्फेटेबल सरकार बनाइदिने पो रहेछ । ”

उहाँले आफैले केन्द्रीय कमिटी बनाएको भन्दै दिएकाले लिन पनि सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “जुन हातले नाम लेख्यो त्यस हातले नाम काट्न सक्छ । नियुक्ति दिनेले नियुक्ति रद्द गर्न सक्छ । मुख्य सचेतक मैले बनाएको थिएँ देव गुरुङलाई । मैले बनाएको हो अस्तिका दिन मैले हटाइदिएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हो जरुरी परेका बेला…तर उहाँहरुको पद केही पनि चलाइदिएको छैन । आफै अबिर लाउँछन् आफै लड्डु खान्छन् आफै माला लगाउँछन् । मैले सुनेको एकजना अध्यक्ष छाने अरे , अर्को दलको नेता छाने अरे …। कहाँ गयो दलका नेता छान्ने विधि र पद्ध्ति ?”

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले पार्टी फोडेर केन्द्रीय कमिटी बैठक बोलाएको ठाउँबाट भागेर हिँडेको र आफुखुसी ढंगले बहुमत आफुहरुसँग रहेको दाबी गरेको बताउनुभयो । उहाँले आफ्नै दलका नेताहरुले सरकारलाई काम गर्न नदिएको पनि दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *