राजनीति

आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १७ गते १६:४७
आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको दाबी गर्नुभएको छ । उहाँले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्नेसमेत बताउनुभयो ।

पार्टीका कार्यकर्तालाई पोखरामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफुमाथि सम्पूर्ण प्रहार केन्द्रित भइरहेको भन्दै ज्यान नै तलमाथि हुन सक्ने बताउनुभयो । सरकारका विकासका काम देखेर विरोधी आत्तिएको र आफूमाथि प्रहार गरिरहेको प्रधानमन्त्रीको दाबी छ । तर यस्तो आक्रमण कसले गरिरहेको छ भनेर प्रधानमन्त्रीले स्पष्ट पार्नुभएन ।

अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी पनि उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विचलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिबद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरहेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफुमाथि शारीरिक हमलासम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “सम्पूर्ण रुपमा ममाथि प्रहार अत्यन्तै तिब्र गतिले भइरहेको छ । तपाईहरु अनौठो नमान्नुहोला यदि म माथि शारीरिक हमला नै भयो या मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला तर त्यस्तो हुन दिइने छैन । सतर्कता अपनाइनेछ । म रहिन भने पनि केही छैन । आन्दोलन छ पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादीतत्व र तीनका मतियारहरुसँग घुँडा टेक्न हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन ।”

उहाँले प्रचण्ड–नेपाल समूहतिर लक्षित गर्दै आफूहरु अहिले अपराधिक तत्वसँग लडिरहेको समेत बताउनुभयो । पार्टी र आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफुले छाडे मुलुक खाडलमा जाने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्