राजनीति

ओलीका अगाडि प्रचण्ड–नेपाल समूह किन दबावमा ? यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते २०:३६
ओलीका अगाडि प्रचण्ड–नेपाल समूह किन दबावमा ? यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो रणनीतिमा योजनावद्ध ढंगले अघि बढ्दा नेकपाको प्रचण्ड–नेपाल समूह भने संसद पुनर्स्थापनापछि योजनाविहीन जस्तो देखिएको छ । संसद पुनर्स्थापनापछि प्रधानमन्त्री ओली दबाबमा आउने प्रचण्ड–नेपाल समूहको आँकलन गलत सावित भएको छ उल्टै प्रधानमन्त्रीले चुनौती र चेतावनी दिइरहनुभएको छ ।

संसद पुनर्स्थापना भएपछि प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरी अघि बढ्ला भन्ने धेरैको चासो थियो । तर संसद पुनर्स्थापना भएको एकहप्तासम्म पनि प्रचण्ड–नेपाल समूह योजनाविहीन देखिएको छ । र, उल्टै दबाबमा परेको छ । किन दबाबमा छ त प्रचण्ड नेपाल समूह ? हामीले केही कारण खोतल्ने कोशिस गरेका छौं ।

कारण १
राजीनामा नदिने, संसद फेस गर्ने प्रधानमन्त्रीको अडान

संसद पुनर्स्थापना गर्न अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिने अनुमान गरेको थियो । तर प्रधानमन्त्रीले फैसला आएपछि राजीनामा दिने होइन, बरु आफैले समाप्त गर्न चाहेको संसद फेस गर्ने र कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्नुभयो । जुन प्रचण्ड–नेपाल समूहको अनुमान र अपेक्षा विपरीत थियो । त्यसैले प्रधानमन्त्रीको यो अडानबाट प्रचण्ड–नेपाल समूह दबाबमा छ ।

कारण २
निर्वाचन आयोगको भूमिका

निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे निर्णय नगर्दा प्रचण्ड–नेपाल समूह बिलखबन्दमा परेको छ । माघ २० आधिकारिकताका लागि दावी पेश गरेपनि अहिलेसम्म निर्णय नहुँदा प्रचण्ड–नेपाल समूह दबाबमा परेको छ । आयोगले काम हुँदैछ, परामर्श हुँदैछ भनेर लम्बाइरहेको छ ।

यसबाट प्रचण्ड–नेपाल समूह संशकित छ । संसद बैठक बस्नु अघिनै आधिकारिकता बारे निर्णय नगरे यो समूह थप दबाबमा पर्नेछ । आयोगबारे प्रचण्ड–नेपाल समूहका प्रवक्ताको आक्रोश त्यसैको संकेत हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोगमाथि पाँच प्रश्न उठाउँदै आयोग दबाबमा रहेको र प्रतिगामी योजनाको सेवामा प्रयोग हुन खोजेको भनेर गम्भीर आशंकासहितको आरोप लगाउनुभएको छ ।

कारण ३
सत्ता साझेदारीका लागि कांग्रेस तयार नहुनु

अहिले प्रचण्ड–नेपाल समूह योजनाविहीन भएर दबाबमा परेको अर्को कारण हो प्रमुख प्रतिपक्षी कांग्रेस । सत्ता सहकार्यका लागि प्रचण्ड–नेपाल समूह कांग्रेससँग छलफलमा छ । तर कांग्रेस तयार भैसकेको छैन ।

फागुन १२ गतेको छलफलमा सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभएको थियो । तर अर्को दिन बसेको पदाधिकारी बैठकले पार्टी नफुट्दै केही कदम अघि नबढाउने निर्णय गर्यो । अर्थात कांग्रेस पर्ख र हेरको अवस्थामा छ । तर कांग्रेसको यही पर्ख र हेरको अवस्थाले प्रचण्ड–नेपाल समूह निकै दबाबमा परेको छ । र, प्रधानमन्त्री ओलीविरुद्ध कसरी अघि बढ्ने भन्ने योजना बनाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्