अपहरित दम्पतीको खोजीमा प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय आन्दोलित

१६ फागुन २०७७ महोत्तरी । महोत्तरीबाट अपहरित एक दम्पतीको खोजीमा प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन ।
पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड्वाका ६५ वर्षीय मुसाफिर झा र उहाँकी ६० वर्षीया श्रीमती गीता देवीको गत सोमबार मध्यरातमा अपहरण भए पनि अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।
खोजी गरिदिन माग गर्दै स्थानीय बासिन्दा र मैथिल ब्राम्हण सभाले प्रमुख जिल्ला अधिकारी केशव विमलीलाई ज्ञापनपत्र बुझाएर जिल्ला प्रशासन कार्यालयमा धर्ना थालेका छन् ।
अपहरित दम्पतीका कान्छा छोरा मनिषकुमार झाले प्रहरीको काममा असन्तुष्टि जनाउँदै प्रहरीमाथिको भरोशा टुट्न थालेको बताउनुभयो ।
धर्नामा सहभागी पूर्वमन्त्री एवं स्थानीय हरिनारायण यादवले अपराधीको खोजी गरी कारबाही गर्न प्रहरीलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी केशव विमलीले प्रहरी पूर्ण निष्ठाका साथ खोजबिनमा लागेको बताउनुभयो । अपहरित दम्पतीको हत्या नै भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनास्थल र घरबाहिरसमेत रगतका छिटाहरु भेटिएकाले हत्या हुन सक्ने आशंकालाई बल पुर्याएको छ ।
प्रतिक्रिया