Political Hightlights

अवहेलना मुद्दामा जवाफसहित नेकपा अध्यक्ष प्रचण्ड अदालतमा उपस्थित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते १३:०६
अवहेलना मुद्दामा जवाफसहित नेकपा अध्यक्ष प्रचण्ड अदालतमा उपस्थित (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले अदालतको अवहेलना नगरेको जवाफ दिनुभएको छ । प्रचण्डले अदालतको अवहेलना गर्ने काम आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि प्रष्ट पार्नुभएको छ ।

अवहेलना मुद्दामा अदालतमा उपस्थित भएरै लिखित जवाफ पेश गरेका प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको प्रष्टिकरण दिनुभएको हो ।

सार्वजनिक सभामा सरकारको बदनियत र संविधान विरोधी कामबारे जनतालाई सुसूचित गराउँदै आफ्नो धारणा राखेको प्रचण्ड निकट राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले जानकारी दिनुभयो ।

प्रचण्डले आफूबाट अदालतको अवहेलना कहिल्यै पनि नहुने पनि विश्वास दिलाउनुभएको छ । उहाँले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा निवेदन दायर गरेको समेत जिकिर गर्नुभएको छ ।

आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन भन्दै प्रचण्डले सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठान्ने भएकोले यस्ता निवेदन हाल्न लगाएको लिखित जवाफमा उल्लेख छ ।

प्रचण्डले आफूविरुद्ध अवहेलनाको मुद्दा हाल्ने अधिवक्ता समीर हायू माथि नै कारवाही हुनुपर्ने तर्क गर्दै दर्तै हुनु नपर्ने मुद्दा भएकोले खारेजीको माग गर्नुभएको छ ।

प्रचण्डविरुद्ध परेको अवहेलनासम्बन्धी रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ मागेको थियो । निवेदनमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभामा बोल्नुका साथै न्यायाधीशलाई लक्षित गरेर अभिव्यक्ति दिएको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । सबैले अदालतको अवहेलना नगरेको जवाफ दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्