राजनीति

देउवालाई सरकारमा नजान पार्टीका शीर्ष नेताहरुको चर्को दबाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १३ गते २०:१९
देउवालाई सरकारमा नजान पार्टीका शीर्ष नेताहरुको चर्को दबाव (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताले सरकारमा नजान सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको शीर्ष नेताको बैठकमा बोल्ने अधिकांश नेताले गत चुनावमा पार्टीलाई प्रतिपक्षमै बस्ने म्यान्डेट प्राप्त भएको भन्दै सरकारका लागि हतार गर्न नहुने धारणा राखेका हुन् ।

महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, अर्जुन नरसिंह केसी लगायतले सरकारको नेतृत्वका लागि अघि नसर्न सभापति देउवालाई आग्रह गरेको सहभागी एक नेताले जानकारी दिएका छन् ।

बैठकमा सभापति देउवाले यसबारे कुनै धारणा राख्नुभएन । सत्तारुढ नेकपाको आधिकारिकता सम्बन्धी विवाद टुङ्गो नलागेसम्म सता साझेदारीबारे कुनै छलफल अघि नबढाउने सहमति गरेर बैठक सकिएको छ ।

बैठकपछि संचारकर्मीसँग नेताहरुले नेकपाको आधिकारिकता विवाद टुङ्गो नलागेकाले अहिले कांग्रेसले पर्खने निर्णय भएको जनाएका छन् ।

नेकपा कानूनी रुपमा अहिले एउटै पार्टी भएकाले छलफल अघि बढाउन समस्या भएको कांग्रेसको ठहर छ ।

बैठकले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन नेकपाको विवाद निर्वाचन आयोगबाट टुङ्गिनुपर्ने या संसदीय दलको नेता फेर्नुपर्ने निष्कर्ष निकालेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

नेकपा विभाजन भएको अवस्थामा सत्ता समीकरणका लागि कांग्रेसको भूमिका निर्णायक हुने देखिएको छ ।

नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हिजो कांग्रेस सभापति देउवालाई भेटेर भेटेर सत्ता सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।

कांग्रेसका अधिकांश नेताले ओली समूहसँग सहकार्य गर्न नहुने मत राखिरहेका छन् । तर यसबारे सभापति देउवाको भनाइ भने बाहिर आएको आएको छैन । प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्