Main News

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

हिमालय टिभी
२०७७ फागुन १० गते ७:२९
विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

१० फागुन २०७७ काठमाडौं । सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथिको राजनैतिक प्रतिबन्ध सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने भएको छ ।

सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहलाई २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको थियो । विप्लव समूह सरकारसँग वार्ता गर्न तयार देखिएपछि सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ला गरिने भएको हो ।

विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बनाउनु भएको थियो ।

पार्टी प्रतिवन्ध फुकुवा गरेर वार्ताको माध्यमबाट विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएपछि पुष्पकमल दाहाल प्रचण्डसमेतका शेखी झार्न सकिने र चुनावमा मिलाएर जाने रणनीतिअनुसार वार्ताको थालनी गरिएको बुझिएको छ ।

सरकार र विप्लव समूह दुवैले वार्ता टोली सम्भवत आज नै घोषणा गर्ने तयारी छ । सम्भवतः बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका विप्लव नेता धर्मेन्द्र बाँस्तोला पनि आज नै सर्वोच्च अदालतको आदेशमा आजै छुट्नुहुने छ ।

कुनै समय प्रचण्डका प्रियपात्र रहेका विप्लव अहिले जनवादी जनगणतन्त्र भन्दै भूमिगत हुनुहुन्छ । सरकारले घोषणा गरेको चुनावी वातावरण बनाउन र प्रचण्डलाई देखाउन सरकार लचिलो भएर प्रस्तुत भएको बुझिएको छ ।

नेकपाभित्र विभाजनको प्रक्रिया अघि बढ्दै गर्दा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेना र घाइतेलाई समेत विश्वासमा लिन प्रयत्न गर्दै आउनु भएको छ ।

उहाँले केही दिनअघि पूर्वजनमुक्ति सेनालाई बालुवाटारमै बोलाएर उनीहरूका गुनासा सुन्नु भएको थियो । वार्ताका लागि नेताहरु विषणु पौडेल, प्रदीप ज्ञवाली र ओली समूहमा रहेका पूर्व माओवादी नेताहरुले पहल गरिरहनु भएको छ ।

यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । हिजो परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका नेता चिरन पुनबीच काठमाडौँमा नै वार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *