परमाणु संयन्त्र अनुगमन गर्ने समय तीन महिना बढाउन इरान सहमत

१० फागुन २०७७ तेहरान । संयुक्त राष्ट्रसंघलाई परमाणु संयन्त्रको अनुगमन गर्ने समय तीन महिना बढाउन इरान सहमत भएको छ ।
राष्ट्रसंघका निरीक्षकलाई आफ्नो परमाणु केन्द्रहरूमा थप तीन महिनासम्म पहुँच दिन इरान सहमत भएको हो ।
संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकाय अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी, (आइएइए)का प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्तालाई थप तीन महिना अनुगमन गर्न दिन इरान सहमत भएको बताए ।
तर हतारमा भएको भनिएको उक्त सम्झौता अनुसार अब आइएइएका निरीक्षणकर्ताको अनुगमन पहुँच भने केही कम भएको छ ।
त्यस्तै उनीहरूले अब परमाणु स्थलको आकस्मिक निरीक्षण गर्न भने पाउने छैनन् । इरानले भोलिदेखी निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिमा केही परिवर्तन गर्दैछ ।
सन् २ हजार १५ को परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हट्दै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका प्रतिबन्ध अमेरिकाले नहटाएकाले इरानले पछिल्लो कदम चालेको बताइएको छ । पछिल्लो सम्झौतापछि अब तेहरान र वाशिङ्गटनले सम्झौतामा पुग्न थप समय पाएका छन् ।
ट्रम्प प्रशासनले इरानमाथि पुनस् प्रतिबन्धहरू लगाएपछि इरानले सन् २ हजार १५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको आफ्नो परमाणु कार्यक्रम फेरि शुरु गरेको थियो ।
अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने इरानले बताउँदै आएको छ ।
प्रतिक्रिया