Main News

विप्लवसँग वार्ता हुन लागेको कुरा अरु दललाई मन नपरेको प्रधानमन्त्री ओलीको दाबी

हिमालय टिभी
२०७७ फागुन ९ गते १९:२५
विप्लवसँग वार्ता हुन लागेको कुरा अरु दललाई मन नपरेको प्रधानमन्त्री ओलीको दाबी

९ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाउनु भएको छ ।

आज पाँचौ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयमा आतंक छाएको बताउनुभएको हो ।

विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेहरुमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो । पृथकतावादको कुरा गरिरहेका सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो ‘हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौ हामी, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन् । कतिपयमा आतंक छायो । विप्लवलाई प्रयोग गरुँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले देश त साच्चै हरेक हिसाबले अगाडी बढ्छ कि क्या हो, पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँछु भने । अब विप्लव वार्ता गर्छु भन्दैछन् । केहीलाई छट्पटी भएको छ ।’

उहाँले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने पनि बताउनुभयो । राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *