Main News

ओलीका पक्षमा साइबर सेना बनेर काम गर्ने नेकपा ओली समूह निकट युवा संघको निर्णय

हिमालय टिभी
२०७७ फागुन ८ गते १८:३१
ओलीका पक्षमा साइबर सेना बनेर काम गर्ने नेकपा ओली समूह निकट युवा संघको निर्णय

८ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताउनु भएको हो ।

समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पार्नुभयो । आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिग्भ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताउनुभयो ।

यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी बिनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताउनुभयो ।

प्रचण्ड–नेपाल समूहको सत्ता मोहका कारण जनतामा निराशा छाइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिनेसमेत अध्यक्ष सिंहले बताउनुभयो ।

आगामी बैसाख १७ र २७ गते हुन गइरहेको मध्यावधि निर्वाचनमा युवा संघ नेपाल केन्द्रित हुने पनि उहाँले बताउनुभयो । सरकारलाई गरिएको घेराबन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघ नेपालमा कुनै धार, गुट र समूह बन्न नदिने पनि अध्यक्ष सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *