घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुखसहित दुई जना पक्राउ

हिमालय टिभी
२०७७ फागुन ८ गते १४:४३
घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुखसहित दुई जना पक्राउ

८ फागुन २०७७ बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानून व्यवसायी बद्रीप्रसाद बडाल घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख खनाललाई अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाएर फुकुवा प्रक्रिया सहज बनाउन भन्दै लेखापढी व्यावसायीमार्फत् घुस रकम लिन लाग्दा पक्राउ गरिएको हो ।

जग्गा फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै खनालले सेवाग्राहीसँग रकम माग गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद सिलवालले जानकारी दिनुभयो ।

हिजो नियन्त्रणमा लिएका उनीहरुलाई अख्तियारले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *