Political Hightlights

आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

हिमालय टिभी
२०७७ फागुन ८ गते ८:३८
आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

८ फागुन २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु आज प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न विराटनगर आउने हुने भएको छ।

दुई वर्षपछि प्रधानमन्त्री ओली विराटनगर आउन लाग्नु भएको हो । ०७५ जेष्ठ २६ गते प्रधानमन्त्री ओली १ नम्बर प्रदेशमा सम्बोधन गर्न विराटनगर आउनु भएको थियो ।

विराटनगरमा आज अपरान्ह हुने आमसभालाई सम्बोधन गर्न ११ बजे प्रधानमन्त्री ओलीसहितका पार्टीका शीर्ष नेता प्रदेश राजधानी विराटनगर आउने कार्याक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायतका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्याक्रम रहेको छ ।

संसद विघटनपछि प्रधामन्त्री ओलीलाई प्रमुख अतिथिका रुपमा राखेर प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक आम सभा आयोजना गरिएको हो ।
विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा हुने आमसभामा दुई लाख बढीको कार्याकर्ताको सहभागिता रहने केन्दीय सदस्य ढकालले दाबी गर्नुभयो ।

केन्द्रीय सदस्य ढकालका अनुसार सभामा उपस्थिति जनाउनेहरुका लागि प्रदेशका मुख्य शहर लगायत स्थानीय तहमा एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको छ। त्यसबाहेक मोटरसाइकलमा मात्रै १० हजार समर्थक आउने दाबी गरिएको छ।

आमसभाका लागि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस निकालिने छ ।

विराटनगरको सभा सम्बोधन गरी प्रधानमन्त्री ओली आजै ४ बजे काठमाडौं फर्कने कार्याक्रम रहेको छ ।

सभामा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओली आउने भएपछि विराटनगर लगायत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विराटनगरमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले सुरक्षाको प्रबन्ध मिलाएको छ । आज बिहानैदेखि विराटनगरमा ठूलो सख्यामा पोशाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । ठाउँठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि उत्तिकै सख्यामा परिचालन गरिएको छ ।

स्रोतका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेनाको टोली सादा पोशाकमा खटिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विराटनगर र आसपासका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्