Main News

बृहत् नागरिक आन्दोलनकाे घोषणा पत्र : नागरिक सर्वोच्चता फर्काइ छोड्ने प्रतिवद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते २०:५६
बृहत् नागरिक आन्दोलनकाे घोषणा पत्र : नागरिक सर्वोच्चता फर्काइ छोड्ने प्रतिवद्धता (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । बृहत् नागरिक आन्दोलनले संसद विघटनको विरोध गर्दै नागरिक सर्वोच्चता फर्काइ छोड्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ । टुँडिखेलमा नागरिक भेला तथा प्रदर्शन गर्दै नागरिक आन्दोलनले घोषणापत्र जारी गरेको हो ।

बृहत नागरिक आन्दोलनको आह्वानमा भएको टुँडिखेल मार्च रत्नपार्क, शंखधर साख्वा पार्कबाट शुरु भई भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भयो ।

मार्च पासमा नागरिक अगुवाहरुले सरकारले गरेको प्रतिगमन सह्य नहुने भन्दै, प्रतिगमनविरुद्ध नाराबाजी गर्दै सरकारलाई खबरदारी गरे । प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको खबरदारीमा सहभागीले प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको अर्थ के भन्दै सरकारलाई प्रश्न गरेँ ।

स्वतन्त्रता हनन् गरिएको भन्दै पर्चा, पम्पेल्ट र कार्टुनमार्फत सरकारको कदमप्रति विरोध जनाए । सरकारका कारण नागरिक भएको महशुस गर्न नपाएको उनीहरुको आक्रोस छ ।

करोडौं मानिसको रगत पसिनामा तिम्रो सत्ताको जग बसेको छ भन्दै उनीहरुले सडकको आवाज सुन्न सरकारलाई आग्रह गरे । विधिको शासन चाहिन्छ भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेयता दैनिक जसो प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले सरकारको कदमलाई असंवैधानिक भनेको छ ।

संविधानले सार्वभौमसत्ता जनतामा निहित गरेको तर सरकारले नागरिक हक अधिकार नै हनन् गरेको आन्दोलनको ठहर छ । त्यसैले नागरिकमा निहीत अधिकारसहित सम्पूर्ण नागरिक जागौँ भन्ने अपील सहित आन्दोलनले घोषणा पत्र जारी गरेको छ ।

घोषणापत्रमा सञ्चारलाई नियन्त्रण गर्ने, फोन संवाद टेपिङ गर्ने, सामाजिक सञ्जालमा अङ्कुश लगाउने आदि कार्य गर्ने अधिकार सरकारसँग नभएको भन्दै सरकारलाई सचेत गराइएको छ ।

सीप, शिल्प र स्थानीय ज्ञानको सम्मान सहित किसान र श्रमिक वर्गको हक सुरक्षित गर्न ज्ञानलाई श्रमसँग जोड्ने अभियानमा सामेल हुन पनि घोषणा पत्र मार्फत आग्रह गरिएको छ ।

लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्न पनि नागरिक आन्दोलने आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *