भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

हिमालय टिभी
२०७७ फागुन ५ गते १८:३६
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

५ फागुन २०७७ भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने २२ वर्षीय कुलबहादुर तामाङ, ओखलढुंगाकै खिजी देम्बा गाउँपालिका–२ का २८ वर्षीय पञ्चमान तामाङ, लिखु गाउँपालिका–९ बस्ने २४ वर्षीय गोविन्द गौतम, दोलखाको शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने २७ वर्षीय अभिषेक योञ्जन, दोलखा शैलुङ गाउँपालिका–६ घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने १९ वर्षीय सुमन नेपाली, दोलखाको शैलुङ गाउँपालिका–२ घर भई भक्तपुर सुर्यविनायकमा बस्ने २३ वर्षीय फुर्वा तामाङ र दोलखाको शैलुङ गाउँपालिका–२ घर भई भक्तपुर सुर्यविनायकमा बस्ने २१ वर्षीय राजु तामाङ रहेका छन् ।

पुस ६ गते राति ८ बजेको समयमा भक्तपुरको सुर्यविनायक नगरपालिका– ८ सिपाडोल बस्ने २६ वर्षीय किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नम्बर ३–०२–०१० प ७१४१ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी भएको भनी माघ ११ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको उजुरीमा कुल बहादुर, पञ्चमान र गोविन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी सोही समूहले बाराही स्थानको उकालो बाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले डेरा कोठा अगाडिबाट प्रदेश २–०२० प ८८२७ नम्बर मोटरसाइकल चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

यस्तै, फागुन ४ गते भक्तपुर नगरपालिका–७ स्थित आदर्श चोकमा चेकजाँचको क्रममा बा ९८ प ८९६४ नम्बरको हरि गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले अभिषेक र सुमनलाई पक्राउ गरेको छ ।

यसैगरी, फागुन ४ गतेनै मध्यपुर ठिमी नगरपालिका–५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प। ७०४८ नम्बरको कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लाँदै गरेको अवस्थामा प्रहरीले फुर्वा र राजुलाई पक्राउ गरेको छ ।

उल्लेखित चार वटै मोटरसाइकल भक्तपुर जिल्लाका भिन्नभिन्न स्थान र समयमा उल्लेखित अभियुक्तहरुले चोरी गरेको खुल्न आएको र सम्बन्धित मोटरसाइकल धनीहरुसमेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएकाले कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *