गण्डकी सरकारका योजना कागजमा मात्रै सीमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते २०:५०
गण्डकी सरकारका योजना कागजमा मात्रै सीमित (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ पोखरा । गण्डकी प्रदेश सरकारले आज तेस्रो वार्षिकोत्सव मनाएको छ । यो अवधिमा प्रदेशमा भौतिक पूर्वाधार, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा प्रयाप्त काम भएको सरकारले दाबी गरेको छ । तर नागरिकले भने त्यसको अनुभूति गर्न सकेका छैनन् । प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकबाट गरिएका निर्णय पनि अलपत्र छन् ।

गण्डकी प्रदेश सरकारको पहिलो बैठकले ५ वर्षभित्र पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण, अत्याधुनिक क्यान्सर, मुटु र मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्ने, सबै घरमा उज्यालो र खानेपानी पुर्‍याउने लगायतका ५ वटा निर्णय गरेको थियो । तर, तीन बर्ष बितिसक्दा पनि ति योजना कार्यान्वयनमा जान सकेका छैनन् ।

तेस्रो वार्षिकोत्सवमा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले फेरि यी निर्णय दोहोर्‍याउनु भएको छ । काम गर्न नसकेको आरोप लागिरहँदा उहाँले संघीय सरकारका कारण प्रदेश सरकारलाई अप्ठेरो भइरहेको गुनासो गर्नुभएको छ ।

प्रतिबद्धता गरे अनुसार काम नगरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि प्रदेश सरकारलाई घेरेको छ । पोखरा चक्रपथ, बसपार्क, फेवा ताल संरक्षण, प्रदेश रंगशाला, जस्ता आयोजनाबारे प्रश्न उठाउँदै कांग्रेसले प्रदेश सरकारका योजना कागजमा मात्रै सिमित भएको आरोप लगाएको छ ।

प्रदेश सरकारको मुख्यालयमा वार्षिकोत्सव गरी योजना दोहोर्‍याइरहँदा आम नागरिक पनि असन्तुष्ट देखिएका छन् । सबै समस्या जस्ताको तस्तै रहेको नागरिकको गुनासो छ ।

प्रदेश सरकारले प्रदेश राजधानी तोक्नु र नाम जुराउनुलाई ३ वर्षे कार्यकालको मुख्य उपलब्धि मानेको छ । अनि तीन वर्षसम्म पूरा हुन नसकेका काम आउँदो वर्ष पूरा गर्ने बाचा गरेको छ । तर विगत हेर्दा उसको वाचा पत्यारलाग्दो भने देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *