Main News

संसद विघटन बदनियतपूर्ण र असंवैधानिक देखियोः बरिष्ठ अधिवक्ता कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते १८:५४
संसद विघटन बदनियतपूर्ण र असंवैधानिक देखियोः बरिष्ठ अधिवक्ता कार्की (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि संसद विघटनविरुद्धको मुद्दामा एमिकस क्यूरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम शुरु भएको छ ।

रिट निवेदक र प्रतिवादीको बहस सकिएपछि आजदेखि अदालतले एमिकस क्युरीको राय लिन थालेको हो । पहिलो दिन संसद विघटनको मुद्दामा राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद विघटन बदनियतपूर्ण र असंवैधानिक भएको बताउनुभयो ।

पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता कार्कीले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भए पनि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बदनियत राखेको टिप्पणी गर्नुभयो ।

कार्कीका अनुसार विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको छ । पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु दुर्भावनापूर्ण र असंवैधानिक भएको वरिष्ठ अधिवक्ता कार्कीको तर्क छ ।

संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने कार्कीको मत छ । अहिले जे आधार देखाएर विघटन गरिएको छ त्यो गलत भएको उहाँले बताउनुभयो ।

कार्कीले फैसला गर्दा संविधानमा के लेखेको छ, त्यति मात्र हेर्न राय दिँदै संविधानमा एउटा लेखेर अर्को गर्न नपाइने बताउनुभयो । जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको तर्फ न्यायालयको ध्यानाकर्षण गर्नुभयो ।

विधायिकी मनशाय हेर्न उहाँले अदालतलाई सुझाव दिनुभयो । संस्था रहेमा व्यक्तिका कमजोरी सच्याउन सकिने उहाँले बताउनुभयो । हटाउन चाहनेले अविश्वास प्रस्ताव ल्याउने र बस्न चाहनेले विश्वासको मत लिने हो संस्था अन्त्य गर्ने होइन भन्दै कार्कीले प्रधानमन्त्री जवाफदेही हुने थलो संसद भएको तर्फ पनि ध्यानाकर्षण गर्नुभयो ।

संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको पनि उहाँले बताउनुभयो ।

यो मुद्दामा सर्वोच्च अदालतलाई राय दिन एमिकस क्युरीका रूपमा बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक हुनुहुन्छ । एमिकस क्युरीको बहस सकिएपछि संवैधानिक इजलासले अध्ययन गरेर मुद्दाको टुंगो लगाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *