प्रधानमन्त्री ओली संकटकाल र राष्ट्रपति शासन लगाउने दिशामा अघि बढेको आरोप (भिडियो रिपोर्टसहित)
![प्रधानमन्त्री ओली संकटकाल र राष्ट्रपति शासन लगाउने दिशामा अघि बढेको आरोप (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/02/poudel-gajurel.jpg)
४ फागुन २०७७ काठमाडौं । राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संकटकाल र राष्ट्रपति शासन लगाउने दिशामा अघि बढेको आरोप लगाएका छन् ।
संसद विघटनको असंवैधानिक कदमपछि सत्ता टिकाउन प्रधानमन्त्री ओली संकटकाल र राष्ट्रपति शासन लगाउने तयारीमा रहेको उनीहरुको आरोप छ । काठमाडौंमा भएको कार्यक्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री ओली सत्ता लम्ब्याउने उपायको खोजीमा रहेको टिप्पणी गर्नुभयो ।
संसदीय व्यवस्था फाल्ने भनेर विप्लव नेतृत्वको पार्टीसँग संयुक्त मोर्चा बनाएको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पनि घटनाक्रमले प्रधानमन्त्री ओली संकटकाल र राष्ट्रपति शासन लगाउने दिशामै अघि बढेको बताउनुभयो । प्रधानमन्त्री ओलीले चुनाव नगराउने पनि उहाँले दावी गर्नुभयो ।
नेता गजुरेलले अहिलेको संसदीय व्यवस्थालाई मात्रै विकल्प नठान्न चेतावनी दिनुभयो । अहिलेको व्यवस्थाकै विकल्प खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले रणनैतिक संयुक्त मोर्चा बनाएर अहिलेको संविधान र संसदीय व्यवस्था फाल्ने घोषणा गरेका छन ।
प्रतिक्रिया