Main News

यस्तो छ प्रधानमन्त्री ओलीले आफैले गरेको आफ्नो तीन वर्षे कार्यकालको समीक्षा (पूर्णपाठसहित)

हिमालय टिभी
२०७७ फागुन ३ गते १४:५०
यस्तो छ प्रधानमन्त्री ओलीले आफैले गरेको आफ्नो तीन वर्षे कार्यकालको समीक्षा (पूर्णपाठसहित)

३ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टीभित्रैका नेताबाट शुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।

भुकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै उहाँले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताउनुभएको हो । उहाँले आफ्नो ३ वर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दै विकास निर्माण र मानव विकास सूचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसँग भएको बताउनुभयो ।

यसकारण प्रतिनिधिसभा विघटन गरेँ
उहाँले आफ्नै पार्टीभित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पूरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहो¥याउनुभयो । शुुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टीभित्रबाट असहयोग हुँदै आएको भन्दै उहाँले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीभित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो । झण्डै ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए,सरकारले संसदमा पेश भएका प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदूत नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाइमा अड्काउँछन्, विकाससम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो, सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।”

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफू हरदम सचेत रहेको, अनेकौ लाञ्छाना सहेरै भए पनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भए पनि आफू सफल हुन नसकेको उहाँले बताउनुभयो । सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुःखपूर्ण स्थितिमा सरकार रहेको उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिँडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफूले लगातार प्रयास गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

संसदीय दलमा आफ्नाविरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उहाँले नेकपाभन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले वैकल्पिक सरकारको कतै संभावना नदेखेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । बेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नु मात्रै भएकाले आफूले त्यस किसिमको निर्णय गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

देश अस्थिरता र अस्थायित्वतर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया शुरु हुने संभावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उहाँले स्पष्ट पार्नुभयो । मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनु हुँदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुँदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो । आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायित्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उहाँले राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धताअनुसार त्यस किसिमको निर्णय गर्न पुगेको स्पष्ट पार्नुभयो ।

उहाँले आफ्नो निर्णयका बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेको, जनादेशको अवहेलना, प्रतिगमनजस्ता आपत्तिजनक आरोप लगाइएको प्रति आफूलाई खेद लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो “के मुलुकलाई अस्वस्थ्य राजनीतिको गोलचक्करमा फसिरहन दिने ? ”

सरकारले अलोकतान्त्रिक काम नगर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी गर्नुभयो । ताजा जनादेशका लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उहाँले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

उहाँले भन्नुभयो “कुनै हालतमा चुनाव गराउँदैन भनेर भन्नुहुन्छ उहाँहरु । उहाँहरु राजनीतिक गर्नुहुन्छ कि जन्मकुण्डली पल्टाउनुहुन्छ ? कस्तो राजनीति गर्नुहुन्छ उहाँहरु ? ”

अघिल्लो जनादेशबाट आएका पात्रहरु उपयुक्त नभएकाले निर्वाचनमा गएर नयाँ पात्र चयन गरी प्रणालीमा सुधार गर्ने उद्घोष गर्नुभयो । समय अगावै निर्वाचनमा जानु भनेको जनादेशप्रतिको अवहेलना नभई सम्मान भएको पनि उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “जुन नेतालाई जनादेश प्राप्त भएन जनताबाट पराजित नेतालाई नै जस्केलाबाट छिरेर प्रधानमन्त्री हुनुपर्ने ? पराजित भएको जुन ठाउँ हो त्यही ठाउँ मलाई चाहियो भनेर अस्वस्थ्य अवाञ्वित क्रियाकलाप र समीकरण गरेर लोकतान्त्रिक मुल्य मान्यतालाई धरापमा पार्ने काम कदापि हुन दिइने छैन । ”

प्रधानमन्त्री ओलीले संविधानले निदृष्ट गरेको बाटोमा सरकार हिँडेको भन्दै सरकारले सधै लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतिबाट चल्ने स्पष्ट पार्नुभयो ।

उहाँले व्यक्तिगत स्वार्थका लागि केही नेताले निर्वाचन घोषणा भइसकेपछि एकजुट भएर चुनावमा जानुपर्नेमा पार्टीलाई नै विभाजित गर्ने कमजोर बनाउने अपराधपूर्ण काममा लागेको आरोप लगाउनुभयो । नेताहरुबाट भएका अस्वस्थ्य गतिविधिहरु अलोकतान्त्रिक, गैरजिम्मेबार र असंवैधानिक भएको टिप्पणी उहाँले गर्नुभयो ।

सरकारका कामको फेहरिस्त
प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि गरेका विभिन्न कामहरुको फेहरिस्त नै राख्नुभयो । यो अवधिमा ८९ नयाँ कानून निर्माण भएको, संविधानसम्मत नभएका सयौ कानूनहरु संशोधन भएको तथा केन्द्र र प्रदेशस्तरीय वित्तीय व्यवस्थापनका लागि आवश्यक कानून, कार्यविधि निर्माण भएको जानकारी उहाँले दिनुभयो । आफूले सरकारको नेतृत्व लिने बेलामा अर्थतन्त्र अस्तव्यत, छरिएको, भद्रगोल र अन्यौलमा रुमलिएको अवस्थामा रहेकाले र आफुले त्यसकिसिमको अर्थतन्त्रलाई सम्हालेको उहाँले बताउनुभयो । उहाँले आफूले सरकारको नेतृत्व सम्हालेको पहिलो बर्ष मुलुकले ७ प्रतिशत, दोश्रो बर्ष ७ भन्दा माथिको आर्थिक वृद्धि हासिल गरेको तथा ७ वटा प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि रहेको दाबी उहाँले गर्नुभयो ।

उहाँले कोरोनाका कारण केही समय प्रभावित भए पनि मुलुक पुनः उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको दाबी गर्नुभयो । अर्को वर्ष १० प्रतिको आर्थिक वृद्धि हुने संकेत देखिएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले ३ वर्षको अवधिमा २९ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको, ९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाइएको, नेपालमा गरिबी नबढेको, भोकमरी नबढेको, सबै स्थानीय तहमा वित्तीय सेवा पुगेको, व्यवसायिक आयकरको दायरा ५२ दशमलब २ प्रतिशतले बढेको, बीमा सेवाको विस्तार २२ दशमलब ७ प्रतिशत पुगेको तथा कोभिडको महामारीमा पनि ५ प्रतिशत मात्रै मुल्यवद्धि भएको दाबी उहाँले गर्नुभयो ।

पुनर्निर्माण तथा विकास निर्माणका कामहरु
प्रधानमन्त्री ओलीले भुकम्पले क्षति पुरााएका सरकारी भवनहरुको पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको बताउनुभयो । उहाँले निजी निवास, सरकारी निवास, सरकारी भवन, सुरक्षा निकायका भवन, स्वास्थ्य संस्थानका भवन, धार्मिक एवं पुरातात्विक महत्वका भवन पुनर्निर्माणको क्षेत्रगत विवरण पनि प्रस्तुत गर्नुभयो । रानीपोखरी पुनर्निर्माण भएको, धरहरालाई ऐतिहासिकता कायम गर्दै आधुनिक रुपमा पुनर्निर्माण गर्ने काम भइरहेको, दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भइसकेको बताउनुभयो । उहाँले मुलुकभरका कालोपत्रे सडकको विद्यमान अवस्था र निर्माणको विस्तृत विवरण पनि प्रस्तुत गर्नुभयो । तुइन विस्थापित भएर झोलुङगे पुल निर्माण भएको उहाँले बताउनुभयो । निर्माणको अनुपात हेर्दा प्रत्येक दिन ५ किलोमिटर सडक कालोपत्रे हुने र हरेक दिन १ भन्दा बढी झोलुङगे पुल निर्माण भइरहेको उहाँले बताउनुभयो ।

हुलाकी राजमार्ग, रेल आयोजना, मध्यमार्ग, लोकमार्ग, ऊर्जा उत्पादन तथा वितरण, हाइड्रोपावर आयोजनालगायत क्षेत्रमा भएको विकास र विस्तारको विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकी करण वार्षिक अनुदान १० अर्बभन्दा माथि पुराइएको, दुध, माछामासु, तरकारी लगायत उत्पादनको वृद्धि अनुपात पनि उहाँले प्रस्तुत गर्नुभयो । उहाँले बैदेशिक लगानी, उद्योगधन्दाको विस्तार, इन्टरनेट, टेलिफोन , विमानस्थल निर्माण तथा विस्तार शिक्षा स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको बताउनुभयो ।

भ्रष्टाचार र सुशासन
प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान सशक्त ढंगले अघि बढेको र पद र पहुँचका आधारमा भ्रष्टाचारीले छुटन नपाउने दोहोराउनुभयो ।

उहाँले भन्नुभयो “दुराचारी र दुराचार र भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होओस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारवाही गर्ने÷नगर्ने फैसला लिइन्नँ ।”

उहाँले झुटा नक्कली बिजक बनाउने, विदेशी विनिमय अपचलन गर्ने, राजश्व चुहावट लगायत यसबर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इतिहासमै सबैभन्दा धेरै मुद्दा दायर गरेको तथा मुलुकका विभिन्न स्थानका सरकारी जग्गाहरु सरकार मातहत ल्याउने काम भएको बताउनुभयो ।

महिला हिंसा
प्रधानमन्त्रीले महिला हिंसा लगायत जघन्य हिंसाका दोषीलाई उम्कन नदिने प्रतिबद्धता जनाउनुभयो । सरकराले एसिड आक्रमण तथा बलात्कार र महिला हिंसाविरुद्धका अध्यादेशहरु ल्याएको र सोमार्फत दोषीलाई हदैसम्म कारवाही गर्ने, पीडितलाई तत्काल क्षतिपूतिसहित न्याय दिने बताउनुभयो ।

नेपालको अवस्था सुधारोन्मुख
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुले नेपाललाई लगानीको वातावरणमा सुधार, शिक्षा स्वास्थ्य खानेपानी, सामाजिक सुरक्षाको वातावरण लगायतमा राम्रो सुधार भएको देखाएको बताउनुभयो ।

उहाँले भन्नुभयो “देशमा केही हुन नसकेको भन्ने गुनासोको स्थिति देखिए पनि खासगरी यो विभिन्न प्रकारका विरोधी हल्लाहरुले र भ्रमहरु सिर्जनाले त्यस्तो देखिए पनि विश्वस्तरीय प्रतिवेदनहरुले पछिल्ला वर्षहरुमा नेपालले आर्थिक र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य प्रगति भएको देखिएका छन् । संयुक्त राष्ट्रसंघ, विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय संघसंस्था र निकायहरुले अघिल्ला वर्षहरुमा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले क्रमश सुधार गरिरहको निचोडसहितको आधारमा बाहिर ल्याएको छ ।”

ती प्रतिवेदनहरुमा कोभिडबीच पनि नेपालमा गरिबी नबढेको, प्रतिव्यक्ति आम्दानी पनि ८ सय ८७ बाट १ हजार ९७ पुगेको देखाएको उहाँले बताउनुभयो । उहाँले कोही भोकै मर्दैन कोही भोकले मर्दैन भन्ने सार्थकता पाएको बताउनुभयो ।

चुनाव हुन्छ, निराश हुनुपर्ने अवस्था छैन
प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने बताउनुभयो । निर्वाचनका लागि आयोगले पनि आवश्यक तयारी गरिरहेको भन्दै उहाँले सबै नेपालीलाई निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी हुन आमन्त्रण गर्नुभयो ।

उहाँले भन्नुभयो “केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु चुनाव हुन्छ । बैशाख १७ गते र बैशाख २७ गते निर्वाचन हुन्छ । निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुनेछ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।”

उहाँले प्राप्त उपलब्धिलाई हेर्दा निराश हुनुपर्ने अवस्था नभएको र निर्वाचन पछि मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “प्राप्त उपलब्धिका आधारमा अझै नेपाल बन्छ र बनाउन सकिन्छ भनी मेरो आत्मबल दृढ भएको छ । जुन आर्थिक बर्षलाई मैले समृद्धिको आरम्भ बर्षको रुपमा प्रस्तुत रेँ, त्यसै बर्ष म बिरामी परेँ । जुन वर्ष विकासका कामलाई हामीले तिब्रताका साथ अगाडि बढाउनु थियो, त्यसै बर्ष कोभिड १९ को महामारीले हामीलाई पनि अत्यायो । जतिखेर राष्ट्र एक भएर महामारीका विरुद्ध जुध्नुपर्ने थियो, त्यही समय मेरा सहकर्मीहरु सरकार कसरी ढाल्ने भन्ने उद्यममा ज्यानै फालेर लाग्नुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *