केही नेताले समानान्तर सत्ता चलाएकाले संसद विघटन गर्नु परेको दाबी
३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको प्रष्टिकरण दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको दाबी गर्नुभयो ।
आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियति भोग्नु परेको बताउनुभयो ।
सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने काम आफ्ने पार्टीभित्रबाट भएको प्रधानमन्त्री ओलीको आरोप छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रका केही नेताको उच्च महत्वकांक्षाका कारण अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएसँगै आफुले संसद विघटन गरेको बताउनुभयो ।
संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने प्रधानमन्त्री ओलीको दाबी छ ।
प्रतिक्रिया