Main News

प्रधानन्यायाधीशको प्रश्नः वर्तमान सरकार ओलीको कि नेकपाको ?

हिमालय टिभी
२०७७ फागुन २ गते १५:०४
प्रधानन्यायाधीशको प्रश्नः वर्तमान सरकार ओलीको कि नेकपाको ?

२ फागुन २०७७ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आजदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ ।

संसद विघटनको प्रतिरक्षामा सरकारी पक्षले बहस गरेपछि त्यसको जवाफमा फेरि रिट निवेदकको तर्फबाट शुरु भएको हो । बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वर्तमान सरकार केपी शर्मा ओलीको हो कि नेपाल कम्युनिस्ट पार्टीको भनेर प्रश्न गर्नुभएको छ ।

अधिवक्ता दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले यो प्रश्न गर्नभएको हो । अर्को सरकार गठन हुन नसके मात्रै विघटनको संवैधानिक व्यवस्था रहेको र प्रतिनिधिसभामा अवरोध सिर्जना गरेर सरकार चलाउन पाउँदिनँ भन्न नपाइने भनेपछि प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गर्नुभयो ।

पोखरेलले नेकपाको भनेर जवाफ दिनुभयो । तर प्रधानन्यायाधीश जबराले नेकपाको हो भने उसँग बहुमत छ र धारा ७६ को उपधारा १ बमोजिमको सरकार भएकाले अरु धाराअन्तर्गत सरकार बनाउने कुरा कहाँ छ भनेर प्रश्न गर्नुभयो ।

तर जवाफमा अधिवक्ता पोखरेलले सरकार कसरी बन्छ भन्ने विषय संसदीय प्रक्रियामा मात्र थाहा हुने र यसमा अदालतले चिन्ता गर्नुपर्ने विषय नभएको बताउनुभयो ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिनेछ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला हुनुहुन्छ ।

एमिकस क्युरीलाई राय दिन बढीमा तीन दिने तयारी छ । त्यसपछि सर्वोच्चले फागुन दोस्रो साताभित्र फैसला दिने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *