Main News

अपहरणपछि होटलमा लगेर बलात्कारको प्रयास, अभियुक्त अझै फरार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १४:२५
अपहरणपछि होटलमा लगेर बलात्कारको प्रयास, अभियुक्त अझै फरार (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ नेपालगञ्ज । नेपालगञ्जमा माघ १६ गते विद्यालयबाट घर फर्किँदै गरेकी छात्रालाई अपहरण गरी होटलमा लगेर बलात्कारको प्रयास भयो । तर त्यसको १५ दिन बितिसक्दा पनि अभियुक्त अझै पक्राउ परेका छैनन् । अभियुक्त पक्राउ नपर्दा अभिभावक त्रासमा छन् ।

नेपालगञ्जमा माघ १६ गते दिउँसो साढे १२ बजेतिर घर फर्कँदै गरी ९ कक्षामा पढ्ने १६ वर्षीया किशोरीलाई स्थानीय युवाले चक्कु देखाएर मार्ने धम्की दिँदै अपहरण गरे । उनलाई नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरे ।

बलात्कार गर्न नसकेपछि अपहरण गर्ने युवाले छात्राको मुख, ओठ र घाँटीमा जुत्ता र मुड्कीले हानेर मरणासन्न हुने गरी कुटपिट गरे । छात्रा बेहोश भइन । नाक, कान र मुख नाकबाट रगत बग्न थालेपछि मरी भन्ने ठानेर ती युवा भागे । होटल सञ्चालकले समयमा नै घटना थाहा पाएर छात्रालाई भेरी अस्पताल लगे । ७ दिन अस्पतालमा भर्ना गरेर उनको उपचार गरियो । अहिले ती छात्रालाई सिविन नेपालको सेल्टरमा राखेर उपचार र हेरचाहको व्यवस्था मिलाइएको छ ।

घटनाको १५ दिन बितिसक्दा पनि प्रहरीले अपहरण गर्ने युवालाई पक्रन सकेको छैन । प्रहरीले अभियुक्तलाई पक्राउ गर्नेतर्फ ध्यान नदिएको पीडितकी आमाको गुनासो छ । केही व्यक्तिले पैसा दिएर घटना मिलाउन दबाबसमेत दिइरहेका छन् ।

अभियुक्त पक्राउ नपरेपछि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएसँगै घटना सार्वजनिक भएको हो । अभियुक्तको पहिचान भइसकेको र प्रहरीले विशेष टोली गठन गरेर खोजतलास गरिरहेको प्रहरीको दाबी छ ।

पीडितकी आमाले अभियुक्तमाथि अपहरण, जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिनु भएको छ । तर लामो समयसम्म पनि अभियुक्त पक्राउ पर्न नसक्नु र मिल्नका लागि दबाब आउँदा पीडित परिवार झन पीडामा परेको छ । अहिले देशभर नै बलात्कार र महिला हिंसाका खबर आइरहेका छन् । महिला तथा किशोरीको सुरक्षालाई लिएर सरकारी निकायमाथि बारम्बार प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *