प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज जवाफी बहस हुँदै

२ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा जवाफी बहस शुरु हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँच जनालाई बोल्न दिने बिहीबारको इजलासमा नै बताइसक्नु भएको छ ।
विपक्षी अर्थात् सरकारी पक्षको बहस बिहीबार सकिएकोे थियो । उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिनेछन् ।
नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल, हरि उप्रेती र शेरबहादुर केसीले जवाफी बहस गर्नुहुनेछ ।
जवाफका लागि कति दिन प्राप्त हुने भन्ने आज नै थाहा हुनेछ । त्यसका साथै अन्य १२ निवेदकका तर्फबाट क–कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुने कानून व्यवसायीहरू बताएका छन् ।
माघ ४ गतेदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको संसद विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानून व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले १३ दिनको समय लिएपछि सरकारको तर्फबाट शुरुमा बहस गरेका महान्यायाधिवक्ता अग्नि खरेलले पनि त्यति नै दिन आफूहरूलाई पनि चाहिने माग गर्नु भएको थियो । तर, समय अभावका कारण प्रधानन्यायाधीश जबराले समय छोट्याउन चाहेकाले सरकारी पक्षले नौ दिन मात्रै बहस गर्यो ।
यस क्रममा ११ जना सरकारी वकिलले बहस गरेका छन्। एउटै कुरा दोहोरिन थालेपछि इजलासले अन्तिमतिर हरेक कानून व्यवसायीलाई पाँच मिनेटको समय निर्धारण गरिदिएको थियो । जवाफी बहस सकिएपछि एमिकस क्युरीमा रहेका पाँच जनालाई आफ्नो कुरा राख्न समय दिइनेछ ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौलालाई पठाएको छ ।
एमिकस क्युरीलाई आफ्नो राय राख्न बढीमा तीन दिनको समय दिइने बुझिएको छ । त्यसपछि केही दिन समय लिएर सर्वोच्चले फैसला दिनेछ । यसरी हेर्दा फागुन दोस्रो साताभित्र फैसला आउने अनुमान गरिएको छ ।
प्रतिक्रिया