Main News

हिंसाविरुद्ध काठमाडौंमा महिला मार्च, बलात्कार रोक्न नसकेकोमा सरकारप्रति आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ३० गते १९:३१
हिंसाविरुद्ध काठमाडौंमा महिला मार्च, बलात्कार रोक्न नसकेकोमा सरकारप्रति आक्रोश (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । महिला हिंसाको विरोध गर्दै काठमाडौंमा महिलाले प्रदर्शन गरेका छन् । महिलामाथिको हिंसा अन्त्य, न्याय र समताको माग गर्दै महिलाले काठमाडौंको बसन्तपुरदेखि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडिसम्म मार्च गरेका हुन् । सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटना नरोकिएको भन्दै उनीहरुको आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंको बसन्तपुरमा कालो लुगा लगाएका, अनी कालो पट्टीले आँखा छोपेका यी किशोरी ।

जस्को हातमा
बलात्कारी खुलेआम, बलात्कृत गुमनाम
तँलाई सत्ताको नशा छ, निर्मला पन्तको दशा छ लगायतका आक्रोशपूर्ण नारा लेखिएका प्लेकार्ड छन् ।

देशमा बलात्कार र हत्याका घटना बढ्दै गएका छन् । तर प्रहरी प्रशासनले अपराधी समाउन सकेको छैन । २०७५ साउनमा बलात्कार पछि मारिएकी कञ्चनपुरी निर्मला पन्त मात्र हैन गत हप्ता बैतडीमा बलात्कारपछि मारिएकी भागरथी भट्टका हत्यारा प्रहरीले समाउन सकेको छैन् ।

अपराधी खुलेहाम घुमि रहेका छन् । त्यसैले बलात्कार र हत्याको अर्को शिकार जो कोही पनि हुन सक्छ । सरकार र प्रहरी प्रशासनप्रति आक्रोशित प्रदर्शनकारीलाइ अर्को पीडित आफू हुने हो कि भन्ने डर छ । त्यसैले उनीहरु सरकारको गम्भीर ध्यानाकर्षण गर्न सडकमा आएका छन् ।

७५ साउनमा निर्मला पन्तपछि ७७ माघमा भागरथीको बलात्कार र हत्या भएको साढे २ वर्षको अवधिमा देशभर ६ हजार ८ सय ४४ जना महिलाको बलात्कार भएको प्रहरीको तथ्यांक छ । बलात्कारमा परेका झण्डै आधा ३ हजार ३ सय ४७ जना बालिका छन् ।

त्यसैले बलात्कारको डरसँगै आक्रोशका साथ सडकमा निस्किएका उनीहरुले महिलाको सुरक्षा कस्ले गर्छ भनेर राज्य र समाजलाई प्रश्न गरेका छन् ।

पछिल्लो साढे २ वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको छ । मानव सृष्टी गर्ने महिलाको अंग, महिलाकै काल बनेको छ । त्यसैलाई देखाउँदै महिला मार्चमा शिल्पी थिएटरका कलाकार शव र मलामीसहित सहभागी भए । उनीहरुले महिलाको स्थिति देखाए ।

मार्चका सहभागीले बलात्कारपछि ज्यान गुमाएका निर्मला पन्त भागरथी भट्ट र मैना सुनार जस्ता हजारौं महिलाका लागि न्यायको माग गरेका छन् । बलात्कारी र महिला हिंसा गर्नेले उन्मुक्ति पाएकैले बलात्कारका घटना बढेका छन् । त्यसैले न्याय मर्नू हुँदैन भन्ने उनीहरुको माग छ ।

महिलाले राज्यको विभेदकारी नीतिबाट मात्र हैन, समाजबाट पनि पीडित हुनु परिरहेको छ । तर पनि सबै पीडितले न्याय र पीडकले सजाय पाएका छैनन् । महिला हिंसाको अन्त्य गर्न समाज र राज्य खेलेको भूमिका कसैलाई पनि चित्त बुझेको छैन । त्यसैले नागरिकले यसरी सडकमा निस्कनु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *