Political Hightlights

देउवाले संसद विघटनविरुद्धको आन्दोलन कमजोर पार्ने काम गरेको कांग्रेस नेताहरुको आरोप

हिमालय टिभी
२०७७ माघ ३० गते १९:१६
देउवाले संसद विघटनविरुद्धको आन्दोलन कमजोर पार्ने काम गरेको कांग्रेस नेताहरुको आरोप

३० माघ २०७७ काठमाडौं । सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनलाई कमजोर पार्ने काम गरेको भन्दै नेपाली कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन् ।

डाक्टर शेखर कोईरालाको नेतृत्वमा धुलिखेलमा भएको केही केन्द्रीय नेताको भेलाले सभापति देउवाका कारण कांग्रेस सशक्त रुपमा सडकमा देखिन नसकेको निष्कर्ष समेत निकालेको छ ।

कांग्रेसको एक पक्ष संसद विघटनविरुद्ध सशक्त रुपमा उभिए पनि सभापति देउवापक्षले भने सरकारको कदमलाई सघाउ पुग्ने गरी अभिव्यक्ति दिइरहनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि हालतमा चुनाव हुने दाबी गरिरहेका बेला सभापति देउवाले पनि चुनावमा जानु लोकतान्त्रिक भनिरहनुभएको छ र सर्वोच्चले बिघटन सदर गरे चुनावमा जान तयार रहेको बताउँदै आउनु भएको छ ।

तर सभापति इतरका नेता भने कुनै पनि हालतमा घुँडा टेक्न नहुने भन्दै आन्दोलनलाई सशक्त बनाउनु पर्नेमा लागिपरेका छन् । यस्तोमा सभापति देउवाको भूमिकाले पार्टीको छवि पनि बिग्रने र आन्दोलनलाई पनि धक्का पुग्ने धुलिखेल भेलामा सहभागी नेताहरुले बताएका छन् ।

धुलिखेल भेलामा सहभागी नेताहरुको भेलाले प्रधानमन्त्री ओलीको कदमबारे जानकार भएर पनि सभापति देउवा सशक्त रुपमा उभिन नसकेको निष्कर्ष निकालेको छ ।

कुनै पनि हालतमा संसद पुनर्स्थापना हुनै पर्नेमा कांग्रेस दृढ हुनै पर्ने भन्दै त्यसै अनुसार सभापति देउवालाई आग्रह गर्ने पनि भेलाले निर्णय गरेको भेलामा सहभागी एक नेताले जानकारी दिएका छन ।

यसबाहेक सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएपनि कांग्रेसले सडकबाटै पुनर्स्थापनाका लागि नैतिक दवाब दिनुपर्ने विषयमा भेलामा छलफल भएको छ।

आकस्मिक भनिएको भेलामा कोईराला सहित युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी र बद्री पाण्डे सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्