नागरिक आन्दोलनले माघ ३० गते काठमाडौंमा महिला मार्च गर्ने
२८ माघ २०७७ काठमाडौं । बृहत् नागरिक आन्दोलनले माघ ३० गते काठमाडौंमा ‘महिला मार्च’ गर्ने भएको छ ।
पर्सी शुक्रबार बसन्तपुर डबलीबाट माइतीघरसम्म महिलाहरुको टोलीले मार्चसहित आन्दोलन गर्न लागेको हो ।
नागरिक समाजको महिला फोर्सले जारी गरेको विज्ञप्तिअनुसार मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मका सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ भन्दै मार्च गर्न लागिएको हो ।
मार्च वसन्तपुर हुँदै न्यूरोड, रत्नपार्क र भद्रकाली हुँदै सिंहदरबार मूलगेटमा आएर सभामा परिणत हुनेछ । जसमा महिला तथा पुरुष टोलीले महिला मुक्तिको नारा लगाउँदै अगाडि बढ्ने बताएको छ ।
बृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रिता शाह, रिता परियार, प्रणेता, प्रणिका कोयु, प्रकृति भट्टराई, कैलाश राई र दोभान राईले महिला मार्चको संयुक्त अपिल गरेका हुन् ।
प्रतिक्रिया