पूर्व राष्ट्रपति ट्रम्पमाथि माथिल्लो सदनमा महाभियोगसम्बन्धी सुनुवाइ प्रक्रिया शुरु
२८ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी माथिल्लो सदनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोगसम्बन्धी सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको छ ।
ट्रम्पमाथिको महाभियोगबारे औपचारिक सुनुवाइ अघि बढाउने प्रस्ताव माथिल्लो सदन सिनेटबाट अनुमोदन भएको हो । सिनेटमा भएको मतदानमा महाभियोग संविधानअनुसार नै रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।
सिनेटमा पेश भएको प्रस्तावमा ५६ का विरुद्ध ४४ मत परेको थियो । त्यसको अर्थ उक्त प्रस्तावलाई डेमोक्र्याटिक पार्टीका सबै ५० तथा ६ जना रिपब्लिकन सांसदले सहमति जनाएका हुन् ।
सुनुवाइ प्रक्रिया अघि बढेपनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम छ । ट्रम्पविरुद्ध महाभियोग लगाउन दुई तिहाईका लागि थप १७ जना रिपब्लिकनले मतदान गर्नुपर्ने भएपनि त्यो सम्भव नरहेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।
उता सिनेटमा हुने सुनुवाइमा आफू सहभागी नहुने ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पका वकिलहरुले उक्त घटनामा उनको कुनै संलग्नता वा भूमिका नरहेको दाबीसहित जवाफ दिएका थिए ।
गत जनवरी ६ तारिखमा राजधानी वाशिङ्गटनस्थित क्यापिटल भवनमा भएको हिंसापछि ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको थियो । सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएको थियो ।
उक्त हिंसाका लागि ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको आरोप छ । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ तारिखमा महाअभियोग प्रस्ताव पारित गरेको थियो ।
यसअघि ट्रम्पमाथि सन् २ हजार १९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा उनीमाथि महभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन ।
महाभियोगबारे आज थप छलफल हुनेछ । ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । दोषी ठहर भए उनीमाथि आजीवन राजनीतिक प्रतिबन्ध लाग्न सक्ने छ ।
प्रतिक्रिया