Main News

कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक किन भएन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २७ गते २०:४३
कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक किन भएन ? (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । कोरोना महामारीका कारण आक्रान्त विश्वमा खोप आएसँगै नयाँ आशा थपियो । नेपालमा पनि कोरोना विरुद्धको खोप अभियान शुरु भैसकेको छ । तर सरकारले खोप अभियानमा लक्षित वर्गको उत्साहजनक सहभागिता देखिएन । किन त ?

भारतबाट कोरोनाविरुद्धको खोप आएसँगै सरकारले माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान शुरु गर्‍यो । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाउने लक्ष्य थियो । तर सरकारले जुन उत्साहका साथ खोप अभियान शुरु गर्‍यो सोही अनुसार लक्षित वर्ग भने सहभागी भएनन् । काभ्रेका एक स्वास्थ्यकर्मी जानकारी कम भएकाले खोप नलगाएको बताउँछन् ।

सरकारले सोचे जसरी लक्षित वर्ग सहभागी नभएपछि माघ २७ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु गरिसकेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कैदीबन्दीलगायतलाई प्राथमिकतामा राखेको सरकारले, दोस्रो चरणमा पत्रकार, कूटनीतिक नियोगलाई पनि समेटेको छ । खोप विश्वसनीय नभएको हल्ला लगायतका कारण लगाउनेको संख्या कम भएको धेरैको निष्कर्ष छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले ट्वीट गर्दै सरकारले सबै ठाउँमा खोपको सहज पहुँच पुर्‍याउन नसक्नु, गृहकार्यको कमी र सरकारको तयारी व्यवस्थित नभएको बताउनुभएको छ । लक्षित वर्गले खोप नलगाएका कारण अन्य व्यक्तिलाई खोप दिनुपर्ने बाध्यात्मक अवस्था आएको सुवेदीको तर्क छ । भ्रम चिर्न सरकारले पर्याप्त काम नगरेकाले खोप अभियानमा सहभागिता कम भएको विज्ञ बताउँछन् ।

तर सरकारी अधिकारी भने पहिलो चरणको खोप अभियान अपेक्षा गरेअनुसार नै भएको दाबी गरिरहेका छन् ।

सरकारले दावी गरेपनि खोप अभियानमा सक्रिय सहभागिता देखिएको छैन । यसको मुख्य कारण नयाँ खोपको विषयमा आम नागरिकमा अनेक आशंका देखिनु हो । त्यस्तो शंका निवारण गर्न सरकारले बेलैमा प्रयास नगर्नाले खोप लगाउन धेरैले रुची देखाएनन् । आगामी दिनमा भने खोपबारे पर्याप्त जनचेतना फैलाउनु आवस्यक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *