२७ माघ २०७७ काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो।
यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियो। लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने भन्दै नागरिकले सडक आन्दोलन नै गरेका थिए।
प्रतिनिधि सभा विघटन भएपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका नेकपा नेता वर्षमान पुनले पनि जनताको आवाज अनुसार घिसिङको पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषद् तथा सीधै प्रस्ताव लाँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाउनुभएको छ ।
गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो। अहिले सरकारले उहाँलाई नै कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो । शाक्य प्राधिकरण भित्र प्रशारण लाईन विज्ञका रुपमा चिनिनुहुन्छ ।