राजनीति

कांग्रेस भन्छ: –प्रचण्ड-नेपालसँग किन मिल्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते २०:१८
कांग्रेस भन्छ: –प्रचण्ड-नेपालसँग किन मिल्ने ? (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली सरकारविरुद्ध संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनिच्छा देखाएको छ । सार्वजनिक कार्यक्रममै कांग्रेस नेताहरुले प्रचण्ड–नेपाल समूहको संयुक्त आन्दोलनको प्रस्ताव अस्वीकार गरेका छन् । अहिले संयुक्त आन्दोलनमा जाँदा घाटा हुने कांग्रेस नेताहरुको बुझाई छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि ओली सरकारविरुद्ध संयुक्त आन्दोलन हुने दावी गरिरहनुभएको छ । र, यो पार्टीका नेताहरुले त्यसका लागि प्रयास पनि गरिरहेको छन् । सोमबार पनि नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले संयुक्त आन्दोलनको प्रस्ताव गर्नुभयो ।

तर नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइरालाले त्यही कार्यक्रममै प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तको संयुक्त आन्दोलन गर्ने प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो । मिलेर आन्दोलन गर्दा घाटा हुने र अहिलेको अवस्था कांग्रेसका लागि अनुकुल बन्दै गएको कोइरालाको निष्कर्ष छ ।

संयुक्त आन्दोलन अस्वीकार गर्नुमा कांग्रेसले आफ्नो फाइदा देखेको मात्रै होइन, प्रचण्ड–नेपाल समूहलाई विश्वास गर्न सकिरहेको छैन भन्ने पनि देखिन्छ । फूट अघि र पछि जे भैरहेको छ, त्यो नै कांग्रेसलाई आश्चर्यजनक लागेको छ । तर पनि ओलीकै कारणले समस्या सिर्जना भएको छ भन्नेमा भने उ सहमत छ ।

काठमाडौंमा महामन्त्री कोइराला र रिजालले जस्तै वीरगञ्ज पुगेर उपसभापति विमलेन्द्र निधिले पनि संयुक्त आन्दोलन अस्वीकार गर्नुभयो ।

नेकपाको प्रचण्ड–नेपाल समूह संयुक्त आन्दोलनमार्फत जनलहर सिर्जना गरी पुनर्स्थापनाको पक्षमा माहोल बनाउन चाहन्छ । जनता समाजवादी पार्टी पनि त्यसमा सकारात्मक नै छ, तर निर्णायक जस्तो अवस्थामा देखिएको नेपाली कांग्रेस भने यो स्थितिमा आफूलाई फाइदा हुने निष्कर्षका साथ पर्ख र हेरको अवस्थामा बसेको छ । तथापि संसद पूनस्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्था आयो भने कांग्रेससँग के विकल्प रहन्छ प्रश्न भने उठ्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्