इरानमाथिको आर्थिक नाकाबन्दी नहट्ने राष्ट्रपति बाइडेनको प्रष्टिकरण
२६ माघ २०७७ न्युयोर्क । इरानमाथिको आर्थिक प्रतिबन्ध नहटाइने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
इरानले सन् २ हजार १५ को आणविक सम्झौताका शर्तहरुको पालना नगरेसम्म प्रतिबन्ध नहट्ने राष्ट्रपति बाइडेनले बताएका हुन् । सम्झौताको पालना फेरी लागू गराउन र इरानमाथि वार्ताको दबाव कायमै राख्न यस्तो निर्णय लिइएको बाइडेको भनाइ छ ।
यसअघि इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले सम्झौता कार्यान्वयनका लागि पश्चिमा देशले अमेरिकालाई प्रतिबन्ध हटाउन दबाव दिनुपर्ने बताएका थिए ।
खामेनीले इरानी सेनाको एयर कमाण्डरसँगको एक कार्यक्रममा इरानले गरेको बृहत् कार्ययोजनामा फर्कन यूरोपेली मुलुकले अमेरिकालाई प्रतिबन्ध पूर्ण रूपमा हटाउन पहल गर्नुपर्ने बताएको इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले जनाएको थियो ।
सबै प्रतिबन्ध हटे इरानले आफूसहित विश्वका शक्ति राष्ट्रबीच भएको आणविक सम्झौता मान्न बाध्य हुने उनको भनाइ थियो । अमेरिका र उसका युरोपेली सहयोगीहरूले सबै प्रतिबद्धताहरूको उल्लंघन गरेको खामेनीको दाबी थियो ।
सन् २०१५ मा इरान र अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपियन युनियनबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो आणविक कार्यक्रमका केही अंश कम गर्न सहमत भएको थियो ।
्
तर त्यसको ३ वर्षपछि नै ट्रम्प प्रशासनले एकतर्फीरूपमा सम्झौताबाट पछि हटेको र इरानमाथि प्रतिबन्धको घोषणा गरेको थियो । त्यसपछि इरानले पनि सम्झौताका बुँदाहरूबाट पछि हट्ने बताउँदै आणविक कार्यक्रमका लागि युरेनियम उत्पादन बढाउने घोषणा गरेको थियो ।
प्रतिक्रिया