Main News

आजदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गरिँदै

हिमालय टिभी
२०७७ माघ २६ गते ८:०६
आजदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गरिँदै

२६ माघ २०७७ काठमाडौं । दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि शुरु हुँदैछ ।

सरकारले आजदेखि दोस्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो । दोस्रो चरणमा कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकार प्राथमिकतामा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भएको छ ।

कूटनीतिक नियोगका विदेशी कर्मचारी, उनीहरूका आफन्त र त्यहाँ कार्यरत नेपाली कर्मचारी र पत्रकारलाई तोकिएको अस्पतालमा खोप लगाइने भएको छ । काठमाडौंको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

पत्रकारले सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन सक्ने छन् । पाटन अस्पतालमा राष्ट्र संघमा कार्यरत कर्मचारी तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ । यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज छलफल गरेर निर्णय गर्ने तयारी भइरहेको प्रवक्ता गौतमको भनाइ छ ।

सरकारले भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप लगाइरहेको छ। पहिलो चरणको कोभिडविरुद्धको खोपअन्तर्गत अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने गरी सरकारले योजना अघि सारेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ।

भारतको सिरम इन्स्टिच्युटमा निर्मित ‘कोभिसिल्ड’ खोप नेपालमा गत १४ गतेदेखि लगाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *