Main News

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित, नेकपा दुई समूहबीच जुटेन सहमति

हिमालय टिभी
२०७७ माघ २५ गते १४:५७
प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित, नेकपा दुई समूहबीच जुटेन सहमति

२५ माघ २०७७ विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चित भएको छ । नेकपा विभाजनपछिको विवादका कारण माघ ७ मा करिब ३ मिनेट मात्र बसेर स्थगित भएको बैठक आजलाई बोलाइएको छ ।

तर दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै शुरु हुने सकेको छैन । बैठकका लागि कार्य व्यवस्था समितिको बैठक ३ घण्टादेखि जारी छ । कार्यव्यवस्था समितिको बैठकमा नेकपा ओली समूहले प्रदेश सभा बैठक स्थगित गर्नु पर्ने अडान राखेको छ ।

प्रचण्ड–नेपाल समूहले बैठक जसरी पनि चलाउनुपर्ने अडान राखेपछि कार्य व्यवस्था समितिको बैठक लम्बिएको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।

भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेश सांसदलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको चेतावनी छ ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताउनु भयो । प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले भने पहिलो बैठकमा प्रवेश गरेपछि कारवाहीको च्याप्टर क्लोज भइसकेको बताउनुभयो ।

प्रचण्ड–नेपाल समूहले पनि मुख्यमन्त्री राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड–नेपाल समूहले निलम्बनको विषय उठाएको छैन ।

प्रचण्ड–नेपाल समूहले आजकै बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रस्तुत हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा उभिने संकेत दिएपछि प्रचण्डनेपाल समूह आजकै बैठकमा अविश्वासको प्रस्तावमा छलफल गर्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *